बलुचिस्तान बन्यो पाकिस्तानको सबैभन्दा जोखिमपूर्ण प्रान्त

बलुचिस्तानमा जुलाई महिनामा पृथकतावादी हिंसामा अभूतपूर्व वृद्धि भएको छ। साउथ एसिया टेररिज्म पोर्टलको खुला स्रोतमा आधारित तथ्यांकअनुसार जुलाईमा बलुचिस्तानमा आत्मघाती विस्फोट, जटिल घात लगाएर गरिएका आक्रमण, समन्वित रूपमा गरिएका उच्च–प्रोफाइल हमला तथा ड्रोन कारबाहीसहित १७६ वटा आतंकवादी आक्रमण भएका थिए। ती आक्रमणमा सुरक्षा निकायका १२७ जनासहित कुल ४३८ जनाको मृत्यु भएको थियो।

यस वर्ष बलुचिस्तानमा आक्रमण र मृत्यु दुवै हिसाबले जुलाई सबैभन्दा हिंसात्मक महिना बनेको छ। तथ्यांकले बलुचिस्तानलाई पाकिस्तानको सबैभन्दा अस्थिर प्रान्तका रूपमा देखाएको छ। यसले खैबर पख्तुनख्वालाई समेत पछाडि पारेको छ। खैबर पख्तुनख्वामा सोही महिनामा १४३ वटा हिंसात्मक घटनामा २४४ जनाको मृत्यु भएको थियो।

सन् २०२६ को जनवरीदेखि जुलाईसम्मको आतंकवादी आक्रमण र हत्यासम्बन्धी तथ्यांकले पनि बलुचिस्तानले खैबर पख्तुनख्वालाई उछिनेर पाकिस्तानको सबैभन्दा अस्थिर क्षेत्रको स्थान लिएको देखाउँछ। यस अवधिमा खैबर पख्तुनख्वामा ५७४ वटा आक्रमणमा १ हजार १९६ जना हताहत भएका थिए भने बलुचिस्तानमा ७६५ वटा हिंसात्मक घटना र १ हजार ६०० जनाको मृत्यु भएको थियो।

आतंकवादी आक्रमणको संख्या बढ्नुका साथै हिंसा बलुचिस्तानका पश्तुनबहुल क्षेत्रमा समेत फैलिएको छ। ती क्षेत्रमा तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले आफ्नो प्रभाव विस्तार गरिरहेको छ। अफगान राष्ट्रिय सेनाका (एएनए) पूर्वसदस्यहरू अफगानिस्तानमा तालिबानविरुद्ध पुनः अभियान सञ्चालन गर्ने उद्देश्यले बलुचिस्तानमा संगठित र हतियारबद्ध भइरहेका बेला टीटीपीले उनीहरूलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएको छ।

विडम्बना के छ भने, एएनएका पूर्वलडाकु समूहहरूले अहिले त्यही आवासीय परिसरहरू प्रयोग गरिरहेका छन्, जहाँ कुनै समय तालिबानको क्वेटा शुरा बस्ने, तालिम लिने र अफगानिस्तानमा विद्रोही अभियान सञ्चालन गर्ने गर्दथ्यो।

अफगान तालिबानले बलुचिस्तानका पश्तुन क्षेत्रमा रहेका एएनएका पूर्वसदस्यहरूको उपस्थितिलाई नियन्त्रण गर्न टीटीपीलाई जिम्मेवारी दिएको बताइएको छ। पछिल्लो समय टीटीपी र एएनएका पूर्वसदस्यबीच भएका झडपमा बलुचिस्तानका पश्तुन समुदायका मानिसहरू समेत मारिएका छन्। त्यसपछि बलुचिस्तानका पश्तुन जनजातिहरूले न्याय र सुरक्षाको माग गर्दै राज्यविरुद्ध प्रदर्शन गरिरहेका छन्।

यसैबीच, अशान्त बलुचिस्तानमा इस्लामिक स्टेट अफ खोरासान प्रोभिन्स (आईएसकेपी) पनि सक्रिय छ। उक्त समूहले मस्तुङ जिल्लामा एक न्यायाधीश र उनका प्रहरी अंगरक्षकको हत्या गरेको जिम्मेवारी लिएको छ। सन् २०१५ देखि नै आईएसकेपीले कुनै न कुनै रूपमा बलुचिस्तानमा आफ्नो उपस्थिति कायम राख्दै आएको छ।

वर्षौंको अवधिमा आतंकवादविरुद्धको दबाब र प्रतिस्पर्धी विद्रोही समूहको आक्रमणका कारण बलुचिस्तानमा आईएसकेपीको प्रभाव घट्ने–बढ्ने गरेको छ। तर, समूहले आफ्नो भर्ती आधार विस्तार गर्दै मध्य एसियाबाट टर्कीसमेत समेटेको छ। एन्क्रिप्टेड सामाजिक सञ्जालमार्फत आफ्नो विचारधारा फैलाउँदै आएको आईएसकेपीले यस क्षेत्रका समान विचारधारा भएका समूह, विशेषगरी जुन्दुल्लाह र लश्कर–ए–झाङ्वी, सँगको सहकार्यबाट पनि आफ्नो अस्तित्व कायम राखेको छ।

अन्य आतंकवादी समूहजस्तै आईएसकेपीले पनि अराजक परिस्थितिको फाइदा उठाउँदै साम्प्रदायिक तथा सामाजिक–राजनीतिक विभाजन, कमजोर शासन भएका सीमान्त क्षेत्र र कमजोर सीमा व्यवस्थापनलाई आफ्नो विस्तारका लागि प्रयोग गरिरहेको छ।

त्यसैले बलुचिस्तानमा हिंसा र हत्यामा आएको वृद्धि केवल बलुच पृथकतावादी र पाकिस्तानी सुरक्षा बलबीचको आक्रमण तथा प्रतिआक्रमणको परिणाम मात्र होइन। विभिन्न विद्रोही तथा आतंकवादी समूहको बहुआयामिक गतिविधिले पनि यसलाई थप जटिल बनाएको छ। बलुचिस्तानको सुरक्षा अवस्थालाई अहिले विकसित हुँदै गएको क्षेत्रीय सुरक्षा वातावरणको पृष्ठभूमिमा हेर्न आवश्यक छ, जहाँ आन्तरिक र बाह्य दुवै पक्षले त्यहाँको सुरक्षा परिदृश्यलाई प्रभावित गरिरहेका छन्।

पहिलो, छ महिनामा प्रवेश गरेको इरान–इजरायल–अमेरिका द्वन्द्वले इरान–पाकिस्तान सीमामा सुरक्षा रिक्तता सिर्जना गरेको छ। आतंकवादी समूहहरूले यही अवस्थाको फाइदा उठाउँदै बलुचिस्तानको आन्तरिक सुरक्षामा थप चुनौती सिर्जना गरिरहेका छन्। टीटीपी, एएनएका पूर्वसदस्य, आईएसकेपी, बलुच लिबरेसन आर्मी (बीएलए) तथा अन्य बलुच पृथकतावादी समूहको हिंसात्मक गतिविधिले यसको उदाहरण प्रस्तुत गर्छ।

दोस्रो, अफगानिस्तान–पाकिस्तानबीचको प्रोक्सी युद्ध बलुचिस्तानका पश्तुन क्षेत्रमा समेत फैलिएको छ। टीटीपीसम्बन्धी तालिबानको रणनीतिक सोच परिवर्तन गराउन पाकिस्तानले द्विपक्षीय तथा बहुपक्षीय कूटनीति, सीमा बन्द, व्यापार निलम्बन, अफगान शरणार्थी निष्कासन र हवाई आक्रमणलगायतका उपाय अपनाइसकेको छ। तर, अपेक्षित परिणाम नआएपछि अब एएनएका पूर्वसदस्यलाई बाहिर ल्याएर अफगानिस्तानमा प्रोक्सी युद्ध सुरु गर्न खोजिएको आरोप लाग्न थालेको छ।

पाकिस्तानी सुरक्षा निकायहरूले टीटीपीसँगै अफगान तालिबानविरुद्ध लड्न अफगान नागरिक तथा पूर्वसैनिकहरूलाई प्रयोग गरिरहेको आरोप छ।

यसको जवाफमा तालिबानले बलुचिस्तानका पश्तुन क्षेत्रमा टीटीपीको प्रभाव बढाउन उसलाई समर्थन, आर्थिक सहयोग र हतियार उपलब्ध गराएको बताइएको छ। सुरुमा टीटीपीका ठूलो संख्यामा सदस्यहरू बलुचिस्तानका पहाडी क्षेत्रमा पुगेर खासै गतिविधि नगरी बसेका थिए। तर, एएनएका पूर्वसदस्यहरू सक्रिय हुन थालेपछि उनीहरूबीच सशस्त्र झडप सुरु भयो।

अफगानिस्तानको बदख्शान प्रान्तमा भएका पछिल्ला घटनाको जरा पनि बलुचिस्तानका पश्तुन क्षेत्रमा टीटीपी र एएनएका पूर्वसदस्यबीच भएका घातक झडपमा रहेको बताइएको छ। दुर्भाग्यवश, ‘राक्षसलाई राक्षसकै माध्यमबाट परास्त गर्ने’ पाकिस्तानको पुरानो रणनीति अझै जारी रहेको देखिन्छ।

तेस्रो, विशेषगरी बीएलएजस्ता बलुच विद्रोही समूहको सञ्चालन क्षमता बढ्नुले पनि बलुचिस्तानमा हिंसा बढाउन योगदान गरेको छ। सन् २०२४ मा ‘अपरेसन हेरोफ’ सुरु गरेयता बीएलएले जटिल र समन्वित सैन्य कारबाही सञ्चालन गर्ने क्षमता प्रदर्शन गर्दै आएको छ। उसले विभिन्न जिल्लामा एकै समयमा उच्च–प्रोफाइल लक्ष्यलाई निशाना बनाएर आक्रमण गर्न सक्ने क्षमता देखाएको छ।

यी आक्रमणले बीएलएको उच्चस्तरीय सञ्चालन क्षमता, पर्याप्त स्रोतसाधन तथा विस्तृत योजना र महिनौं लामो तयारी रहेको देखाएका छन्। बीएलएले सन् २०२४ र २०२५ को अगस्टमा क्रमशः ‘हेरोफ–१’ र ‘हेरोफ–२’ सञ्चालन गरेको थियो। यी कारबाही बलुच आदिवासी नेता तथा राजनीतिज्ञ नवाब अकबर खान बुग्तीको मृत्यु वार्षिकीको आसपास सञ्चालन गरिएका थिए।

पछिल्लो समय बलुचिस्तानमा हिंसा तीव्र हुनुबाट बीएलएले अहिले ‘हेरोफ–३’ को तयारी गरिरहेको संकेत देखिएको विश्लेषण गरिएको छ।

बलुच पृथकतावादी समूहसँग अहिले अमेरिकाले अफगानिस्तान छाड्दा त्यहाँ छोडेका एम–४ र एम–१६ कार्बाइन राइफल तथा थर्मल स्कोप, सञ्चारका लागि स्याटेलाइट फोन, स्टारलिंकको स्याटेलाइट इन्टरनेट र बजारमा सहजै उपलब्ध हुने क्वाडकप्टर ड्रोनसमेत रहेको बताइएको छ।

अन्ततः, राजनीतिक समाधानतर्फ पाकिस्तानी राज्यको उदासीनताले पनि बलुचिस्तानको बिग्रँदो सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ। पाकिस्तानले अत्यधिक सैन्यीकृत विद्रोहविरोधी नीति अपनाउँदै आएको छ। साथै, जबर्जस्ती बेपत्ता पारिएका व्यक्तिको मुद्दाप्रति बेवास्ता गर्दै आएको र राजनीतिक, आर्थिक तथा संवैधानिक अधिकारका लागि बलुच समुदायले गर्दै आएको शान्तिपूर्ण आन्दोलनको समेत निरन्तर विरोध गर्दै आएको आरोप छ।

राज्यले धाँधलीपूर्ण निर्वाचनमार्फत क्वेटामा वैधता कमजोर भएको राजनीतिक संरचना स्थापित गरेको आरोप लाग्दै आएको छ। मुख्यधारका सञ्चारमाध्यममा बलुचिस्तानको द्वन्द्वसम्बन्धी सूचना प्रवाहमा पूर्ण अवरोध र सेन्सरसिपसमेत लागू गरिएको बताइन्छ। परिणामतः राज्यले बलुच युवाहरूको विश्वास जित्न सकेको छैन।

एएनएका पूर्वसदस्यलाई हतियार र आर्थिक सहयोग उपलब्ध गराउने तथा बलुचिस्तानमा सैन्यीकृत विद्रोहविरोधी नीति निरन्तरता दिने पाकिस्तानका निर्णयले थप हिंसाको बाटो खोल्ने जोखिम छ।

यसको सट्टा पाकिस्तानले राजनीतिक प्रक्रिया र कूटनीतिमा आधारित अझ सूक्ष्म र सन्तुलित उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ। बलुचिस्तानलाई आफ्ना जनतामाझ बलियो जरा भएको प्रतिनिधिमूलक राजनीतिक नेतृत्व तथा जनसहभागितामा आधारित विकास मोडल आवश्यक छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *