चीनमा बढ्यो रोजगारीको असुरक्षा
चीनमा रोजगारीको संकट र आर्थिक मन्दी गहिरिँदै जाँदा उच्च माध्यमिक तहका विद्यार्थीहरू प्रतिष्ठित विश्वविद्यालयमा भर्ना हुनुभन्दा प्रहरी तथा सेनाजस्ता सरकारी क्षेत्रमा स्थिर रोजगारीको सुनिश्चितता दिने विशेष विश्वविद्यालय रोज्न थालेका छन्। विश्लेषकहरूका अनुसार यो प्रवृत्तिले चीनका युवामा बढ्दो रोजगारी असुरक्षालाई प्रतिबिम्बित गर्छ। कतिपय विद्यार्थीले प्रतिष्ठित विश्वविद्यालयमा भर्ना हुन पुग्ने उच्च अंक ल्याए पनि ‘आइरन राइस बाउल’ अर्थात् जीवनभरको रोजगारी सुरक्षाको प्रतीक मानिने सरकारी सेवामा प्रवेश गर्ने बाटो रोजिरहेका छन्।
‘फाइनान्सियल टाइम्स’ (एफटी) ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार चीनको विश्वविद्यालय प्रवेश परीक्षा ‘गाओकाओ’मा उच्च अंक ल्याएका विद्यार्थीहरू प्रहरी विश्वविद्यालय र सैन्य विद्यालयजस्ता सरकारी क्षेत्रमा रोजगारीका लागि लाभदायक संस्थातर्फ आकर्षित भइरहेका छन्। विशेषगरी केही संस्थाका लोकप्रिय विषयमा भर्नाका लागि आवश्यक अंक चीनका सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयका केही विषयको प्रवेश अंककै हाराहारीमा पुगेका छन्।
शिक्षा र विश्वविद्यालय प्रवेश परीक्षामा तीव्र प्रतिस्पर्धाका लागि परिचित जियाङ्सु प्रान्तको तथ्यांकलाई एफटीले गरेको विश्लेषणअनुसार यस वर्ष चीनको सार्वजनिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको प्रहरी शिक्षण संस्था ‘पिपुल्स पब्लिक सेक्युरिटी युनिभर्सिटी अफ चाइना’ (पीपीएसयूसी) को लोकप्रिय विषयमा भर्नाका लागि ७५० मध्ये ६५२ अंक आवश्यक परेको थियो। यो चीनकै प्रतिष्ठित विश्वविद्यालयमध्ये एक छिङह्वा विश्वविद्यालयको कम लोकप्रिय विषयमा भर्नाका लागि आवश्यक न्यूनतम अंकभन्दा केवल तीन अंक कम हो।
त्यसैगरी भन्सार निरीक्षण, क्वारेन्टाइन तथा सुरक्षा सम्बन्धी शिक्षा दिने सांघाई कस्टम्स युनिभर्सिटीका सफल उम्मेदवारको अंक ६६२ पुगेको थियो। यो अंक चीनका प्रतिष्ठित विश्वविद्यालयमध्ये पर्ने सांघाई जियाओतोंग विश्वविद्यालयको न्यूनतम प्रवेश अंकभन्दा समेत बढी हो। चीनको रक्षा मन्त्रालयका अनुसार यस वर्ष सैन्य एकेडेमीमा भर्ना भएका नयाँ विद्यार्थीहरूको प्रवेश अंक पनि अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ।
रोजगारीको असुरक्षाले बढायो सरकारी सेवाप्रतिको आकर्षण
सरकारी सेवाप्रतिको यो बढ्दो आकर्षणको मुख्य कारण युवामा देखिएको रोजगारी संकट रहेको विश्लेषण गरिएको छ। गत वर्षको अन्त्यमा बेइजिङ विश्वविद्यालयले विश्वविद्यालयमा अध्ययनरत अन्तिम वर्षका विद्यार्थी तथा स्नातक भइसकेका ३२ हजार २४७ जनामाथि गरेको सर्वेक्षणअनुसार राम्रो प्रतिष्ठा भएका तर देशका शीर्ष विश्वविद्यालयमा नपर्ने संस्थाबाट स्नातक गरेका एकतिहाइभन्दा बढी विद्यार्थीले स्नातक पूरा गरेपछि पनि पूर्णकालीन रोजगारी पाउन सकेका थिएनन्। सामान्य विश्वविद्यालयका स्नातकमा यस्तो अवस्था देखिनेको अनुपात दुई-पाँचौंभन्दा बढी थियो।
राम्रो विश्वविद्यालयबाट स्नातक गरेपछि पनि स्थिर रोजगारी पाउन कठिन हुन्छ भन्ने धारणा बलियो बन्दै गएपछि प्रहरी र सेनाजस्ता सरकारी सेवाप्रति युवाको आकर्षण बढेको हो। आर्थिक मन्दीका कारण निजी कम्पनीमा रोजगारी पाए पनि कहिले जागिर गुम्ने हो भन्ने निश्चित नहुने भएकाले रोजगारीको सुरक्षा सुनिश्चित हुने सरकारी सेवा तुलनात्मक रूपमा आकर्षक विकल्प बनेको विश्लेषण छ।
विशेषगरी कोभिड–१९ महामारी र घरजग्गा क्षेत्रको मन्दी एकसाथ देखिएको सन् २०२२ आसपास निजी कम्पनीमा नयाँ कर्मचारी भर्ना तीव्र रूपमा घटेपछि सरकारी सेवाप्रतिको आकर्षण अझ बढेको बताइएको छ।
यस वर्ष चीनको झेजियाङ प्रान्तका एक विद्यार्थीले चीनका शीर्ष २० विश्वविद्यालयमध्ये कुनै एकमा अध्ययन गर्ने अवसर पाउने अंक प्राप्त गरे पनि प्रहरी कलेज रोजेका थिए। उनले एफटीसँग भनेका थिए, “म जागिर पाउनका लागि विश्वविद्यालय जाँदैछु।” उनका अनुसार जागिर नै नपाउने हो भने शीर्ष विश्वविद्यालय वा सामान्य विद्यालयबाट स्नातक हुनुमा खासै फरक हुँदैन।
कम उमेरमै करिअर निश्चित गर्नुपर्ने जोखिम
तर, कम उमेरमै आफ्नो करिअरको बाटो लगभग निश्चित गर्नुपर्ने अवस्थाप्रति चिन्ता पनि व्यक्त गरिएको छ। चीनको पिपुल्स पब्लिक सेक्युरिटी युनिभर्सिटीका एक प्राध्यापकले प्रहरी विश्वविद्यालय रोजेपछि स्नातक तह पूरा गरिसकेपछि आफू प्रहरी बन्न नचाहने निर्णयमा पुगे पनि अन्य क्षेत्रमा प्रवेश गर्न निकै कठिन हुने बताएका छन्।
विशेषज्ञहरूले यो प्रवृत्तिलाई चीनको अर्थतन्त्रमा देखिएको अस्थिरताको संकेतका रूपमा व्याख्या गरेका छन्।
एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानकर्ता निल थोमसका अनुसार चीनका युवाहरूले यति कम उमेरमै आफ्नो करिअर निश्चित गर्न खोज्नुले उनीहरू आफ्नो आर्थिक भविष्यप्रति कति चिन्तित छन् भन्ने देखाउँछ।
Facebook Comment