सी चिनफिङद्वारा तियानआनमेन दमनको प्रशंसा, चीनमा फेरि ‘लडाकु भावना’ जगाउन आह्वान
चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् १९८९ मा बेइजिङको तियानआनमेन स्क्वायरमा भएको लोकतन्त्र समर्थक आन्दोलनमाथिको कठोर दमनको प्रशंसा गर्दै देशको सार्वभौमिकताको रक्षा गर्न चिनियाँ जनतालाई फेरि ‘अदम्य लडाकु भावना’ अपनाउन आह्वान गरेका छन्।
राष्ट्रपति सीले सोमबार बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा आयोजित कार्यक्रममा यस्तो धारणा राखेका हुन्। कार्यक्रममा सन् १९९३ देखि २००२ सम्म चीनको नेतृत्व गरेका पूर्वराष्ट्रपति चियाङ चेमिनको जन्मशताब्दी मनाउन देशका उच्च अधिकारीहरू सहभागी थिए।
सन् २०२२ मा ९६ वर्षको उमेरमा निधन भएका चियाङलाई चीनलाई तीव्र आर्थिक वृद्धिको एक दशक पार गराउन नेतृत्व गरेको श्रेय दिइन्छ। तर, सन् १९८९ मा बेइजिङको प्रसिद्ध तियानआनमेन स्क्वायरमा भएको लोकतन्त्र समर्थक आन्दोलनमाथिको सैन्य दमनका लागि पनि उनी जिम्मेवार मानिन्छन्।
चीन सरकारले तियानआनमेन घटनाको सार्वजनिक स्मरण तथा श्रद्धाञ्जली कार्यक्रममाथि लामो समयदेखि प्रतिबन्ध लगाउँदै आएको छ। सन् १९८९ मा चिनियाँ सेनाले लोकतन्त्रको माग गर्दै प्रदर्शनमा उत्रिएका कम्तीमा १० हजार मानिसको हत्या गरेको विभिन्न रिपोर्टमा उल्लेख छ।
करिब ४० मिनेट लामो भाषणका क्रममा राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टीलाई चियाङ चेमिनको राजनीतिक विरासतलाई अघि बढाउन आग्रह गरे। उनले वर्तमान नेतृत्वलाई चियाङले अघि सारेको राजनीतिक तथा वैचारिक परियोजनाको निरन्तरताका रूपमा प्रस्तुत गरे।
सीले भने, “अदम्य लडाकु भावना र असाधारण क्षमताका साथ हामी उग्र समुद्र वा अझै भीषण आँधीबेहरीजस्ता ठूला चुनौतीहरूको पनि सक्रिय रूपमा सामना गर्नेछौँ।”
उनले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकासका हितको दृढतापूर्वक रक्षा गर्नुपर्नेमा पनि जोड दिए। ती लक्ष्य पूरा गर्दै तीव्र आर्थिक विकास र दीर्घकालीन सामाजिक स्थायित्वका ‘दुई ठूला चमत्कार’मा नयाँ अध्याय लेख्नुपर्ने उनको भनाइ थियो।
राष्ट्रपति सीले चियाङको नेतृत्वकालका उपलब्धिहरूको लामो सूचीमा तियानआनमेन लोकतन्त्र आन्दोलनलाई पनि समेटे। उनले आन्दोलनलाई अस्वीकार गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको निर्णयको समेत प्रशंसा गरे।
सीका अनुसार सन् १९८९ को वसन्त र गर्मीयामको बीचमा चीनले गम्भीर राजनीतिक उथलपुथलको सामना गरेको थियो। त्यतिबेला चियाङले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका निर्णयलाई दृढतापूर्वक समर्थन र कार्यान्वयन गर्दै सांघाईमा स्थायित्व कायम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।
सोमबारको कार्यक्रमअघि चिनियाँ सरकारी टेलिभिजनले चियाङ चेमिनको जीवन र राजनीतिक उपलब्धिमा आधारित १२ भागको विशेष वृत्तचित्र पनि प्रसारण गरेको थियो।
वृत्तचित्रमा सन् १९८९ को घटनाक्रमबारे पनि उल्लेख गरिएको थियो। सन् १९४० को दशकमा आफैं विद्यार्थी आन्दोलनमा सहभागी भएका चियाङले पछि सांघाईको एउटा सुधारवादी पत्रिकामाथि कडा कदम चालेका थिए। उक्त पत्रिकाले अभिव्यक्ति स्वतन्त्रताको विस्तारको माग गर्नुका साथै बेइजिङमा भएको लोकतन्त्र समर्थक आन्दोलनलाई समर्थन गरेपछि चियाङले त्यसलाई बन्द गराएका थिए।
तियानआनमेन घटनाको वार्षिकीका अवसरमा जुन ४ मा हुने स्मरण कार्यक्रममाथिको कम्युनिस्ट पार्टीको प्रतिबन्ध हङकङ र मकाउसम्म पनि विस्तार गरिएको छ। हङकङमा भएका लोकतन्त्र समर्थक आन्दोलनपछि यस्तो नियन्त्रण थप कडा पारिएको हो।
चियाङ चेमिन र तत्कालीन प्रधानमन्त्री चु रोङजीको नेतृत्वमा चीनले अर्थतन्त्रमा पीडादायी तर महत्वपूर्ण संरचनात्मक परिवर्तनहरू अघि बढाएको थियो। लामो समयदेखि घाटामा रहेका सरकारी उद्योग बन्द गर्ने, पुरानो आवास प्रणाली हटाएर व्यावसायिक घरजग्गा बजारको विकास गर्ने, सन् १९९० को दशकको अन्त्यतिरको एसियाली वित्तीय संकट सामना गर्ने तथा सन् २००१ मा विश्व व्यापार संगठन (डब्लूटीओ) मा प्रवेश गर्ने जस्ता महत्वपूर्ण कदम त्यस अवधिमा चालिएका थिए।
तर अहिले राष्ट्रपति सी स्वयं पनि अनेकौँ चुनौतीसँग जुधिरहेका छन्। अमेरिका र युरोपसँगको व्यापारिक तनाव, ताइवानलाई लिएर बढिरहेको तनाव, सुस्त आर्थिक वृद्धि तथा जनसांख्यिकीय गिरावट चीनका प्रमुख चुनौती बनेका छन्।
यसैबीच, चीनको केन्द्रीय बैंकले गत साता चियाङ चेमिनको जन्मशताब्दीको अवसर पारेर यही महिनाको अन्त्यतिर उनको तस्वीर अंकित विशेष स्मारक सिक्का जारी गर्ने योजना सार्वजनिक गरेको थियो। यस घोषणाले चि
Facebook Comment