दुर्घटनामा सात वर्षीया रिदिमा सरदारको मृत्यु, सुजन चौधरीसहित पाँच जना घाइते
सुनसरीको इनरुवा नगरपालिका-५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ करिब ५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-०५५ प १२९८ नम्बरको स्कुटरसहित साइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्री गरी छ जना घाइते भएका थिए। घाइतेमध्ये स्कुटरमा पछाडि सवार इनरुवा नगरपालिका-९ निवासी सन्जु कुमार सरदारकी सात वर्षीया छोरी रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई साँझ ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा स्कुटर चालक इनरुवा-७ का ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक दुहबी-३ का २२ वर्षीय सागर सरदार तथा मोटरसाइकलमा सवार २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार घाइते भएका छन्।
त्यस्तै साइकलयात्री इनरुवा-५ बलाहाका ४७ वर्षीय इन्द्रजित मण्डल पनि घाइते भएका छन्। घाइते पाँचै जनाको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comment