जन्ती बोकेको बोलेरो दुर्घटना, चुरेन्द्र चौधरीको मृत्यु, अश्विन चौधरी र निर्मल चौधरी गम्भीर
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिका-११ अरुणखोलास्थित बाहुनीकुनामा जन्ती बोकेको बोलेरो पिकअप र ट्र्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका-४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरी रहेका छन्। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो।
प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक भीमबहादुर थापाका अनुसार मंसिर ९ गते राति करिब ९ बजे कावासोती नगरपालिका-१६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आइरहेको लु २ त २४१७ नम्बरको ट्र्याक्टर आपसमा ठोक्किएका थिए।
घाइतेमध्ये अश्विन चौधरी र निर्मल चौधरीको अवस्था गम्भीर रहेको छ। अश्विनको मुख र छातीमा तथा निर्मलको टाउकोमा चोट लागेको छ।
त्यस्तै रविन चौधरी, रिजन चौधरी र सुमेन्द्र चौधरीको अवस्था मध्यम रहेको छ। अन्य घाइतेहरू विशाल राना, श्याम चौधरी, गुल्सन थापा, युवराज चौधरी, आदिश आले, प्रिन्स विक, खेमनारायण चौधरी र घनश्याम चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये रविन, रिजन, विशाल, श्याम, गुल्सन र युवराजलाई थप उपचारका लागि राति ११ः५५ बजे भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ। गम्भीर घाइते अश्विन र निर्मललाई पनि सोही अस्पताल पठाइएको छ।
सुमेन्द्र चौधरी र आदिश आले उपचारपछि डिस्चार्ज भएका छन्। त्यस्तै प्रिन्स विक मध्यबिन्दु प्रादेशिक अस्पताल तथा खेमनारायण चौधरी र घनश्याम चौधरी सेवा मेडिकल अरुणखोलामा उपचारपछि डिस्चार्ज भएका छन्। दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comment