नेतामाथि भएको आक्रमण र निजी निवासमा भएको आगजनीको समीक्षा हुनुपर्छ : तेजुलाल चौधरी
कामचलाउ सरकारका युवा तथा खेलखुद मन्त्री तेजुलाल चौधरीले संविधानको परिधिभित्र रहेर निकास दिन आग्रह गरेका छन्। नेपाली सेनाको संरक्षणमा रहेका चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूमाथि भएको आक्रमण र निजी निवासमा भएको आगजनीको गम्भीर समीक्षा गर्न पनि माग गरेका छन्।
त्यस्तै जघन्य कसुरमा कैद सजाय भोगिरहेको र दोषी साबित भएका हजारौँ कैदीबन्दीहरू बाहिरिनु कानुनी राज्यको उपहास भएकाले सुरक्षाकर्मीले विशेष ध्यान दिन उनले आग्रह गरेका छन्। ‘इतिहासका विभिन्न कठिन परिस्थितिको सामना गर्दै अगाडि बढेको नेपाली कांग्रेसले यो प्रतिकूल अवस्थाको सहज पार लगाउनेमा आशावादी रहन सबै नेता कार्यकर्तामा आग्रह गर्दछु,’ उनले भनेका छन्।
यस्तो छ उनको विज्ञप्ति
आदरणीय सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू,
जय नेपाल ।
देशमा सोमबार Gen Z (जेनजी) ले गरेको कार्यक्रममा तथा मंगलबार ज्यान गुमाउने सबैप्रति म एकदमै दुःख ब्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।
आज देशमा उत्पन्न विषम र असामान्य परिस्थितिप्रति संयमित र धैर्य रहन आग्रह गर्दछु । शान्तिपूर्ण आन्दोलन र माग नागरिकको नैर्सगिक अधिकार हो । यसको लागि म जीवनभर संघर्षरत छु । तर दुर्भाग्य, गत सोमबार भएको घटनामा प्रहरीको गोली लागि १९ जनाको निधन तथा मंगलबार होनाहार केही प्रहरी तथा नेपाली नागरिकको निधनप्रति म भावविव्हल एवं मर्माहत भएको छु । सबैप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यो समयमा सन्तान वियोगका पीडामा रहनुभएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै म जीवनभर लोकतन्त्रको लागि लडेको एक सिपाहीको नाताले घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कानून बमोजिम कडा कार्बाही गर्न समेत माग गर्दछु ।
मंगलबार संसद भवन, ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, शीतलनिवास, राष्ट्र बैक, संबैधानिक निकाय, सरकारी भवन, प्रहरी कार्यालय लगायत देशैभरि भएका आगजनी, तोडफोड, हिँसा र लुटपाटका घटनाले हामी सबैलाई दुःखी बनाएको छ । नीजि आवास, होटल, बैंक, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरुम लगायत सार्वजनिक र नीजि सम्पत्तिमा खर्बौँको नोक्सानी हुनु देशको लागि ठुलो क्षति हो । यसमा सबै देशभक्त नागरिकले एकपटक गम्भीर समिक्षा गर्न आवश्यक छ ।
यो विषम र कठिन परिस्थितिमा पार्टीको सिंगो पंक्ति, सचेत नागरिक समाज र आम जनसमुदायले लोकतान्त्रिक मूल्य र मान्यता अनुसार देशको माटो सम्झेर अगाडी बढ्न आग्रह गर्दछु । देश र ऐतिहासिक सम्पदा र धरोहर रहे इतिहास जोगिने भएकोले सबैले संयमतापूर्वक अगाडि बढ्न र इतिहासले दिएको जिम्मेवारी पूरा गर्न आग्रह गर्दछु ।
जीवनभर लोकतन्त्रको लागि योगदान गरेका आदरणीय कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरूमाथि भएको आक्रमण र नीजि निवासमा भएको आगजनीको गम्भिर समिक्षा गर्नु जरूरी छ । अझ जघन्य कसुरमा कैद सजाय भोगिरहेको र दोषी साबित भएका हजारौँ कैदीबन्दीहरु बाहिरिनु कानुनी राज्यको उपहास समेत भएकोले सुरक्षाकर्मीले विशेष ध्यान दिन जरूरी छ । यस्तो विषम परिस्थितिमा सिङ्गो नागरिक समाज, पार्टी पङ्क्तिलाई अविचलित, दायित्वबोधका साथ एकताबद्ध र भविष्यप्रति आशावादी भएर अगाडि बढ्न सबैमा आग्रह गर्दछु ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले अहिले चालेको कदमको स्वागत गर्दै अहिलेको परिस्थितिकमा संविधानको परिधि भित्रै रहेर निकास निस्कनेमा म विश्वस्त छु । इतिहासका विभिन्न कठिन परिस्थितीको सामना गर्दै अगाडी बढेको नेपाली कांग्रेसले यो प्रतिकूल अवस्थाको सहज पार लगाउनेमा आशावादी रहन सबै नेता कार्यकर्तामा आग्रह गर्दछु । यो समयमा आबेगको सट्टा विवेक, उत्तेजनाको सट्टा चेतनाका साथ सम्हालिन, संयमित र एकताबद्ध भएर अगाडी बढ्न आग्रह गर्दछु ।
जय नेपाल !
तेजु लाल चौधरी
निवर्तमान मन्त्री, युवा तथा खेलकुद मन्त्रालय
Facebook Comment