‘हमार थारू घर एण्ड रेस्टुरेन्ट’मा निरज चौधरीको हत्या
नारायण खड्का/दाङ
बर्दियामा एक युवकको हत्या भएको छ। हत्या भएका युवक दाङको तुलसीपुर उपमहानगरपालिका-५ का २८ वर्षीय निरज चौधरी छन्। आइतबार बिहान ११ बजे बर्दियाको राजापुर नगरपालिका-४ स्थित एउटा रेस्टुरेन्टमा हत्या भएको हो।
बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार निरजको गोली हानेर हत्या गरिएको अनुमान छ। घटनापछि उनलाई बाँकेको नेपालगंजस्थित नरसिंङ होममा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यसपछि बल्ल बाँके प्रहरीले घटनाबारे जिल्ला प्रहरी कार्यालय बर्दियालाई खबर गरेको बर्दियाका प्रहरी निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए।
हत्या गरिएका चौधरीको गालामा दुई तर्फ गोलीले छेडेको जस्तो खत देखिएको छ। गोली प्रहार भए नभएको यकिन पोस्टमर्टम रिपोर्टपछि खुल्ने इन्स्पेक्टर कार्कीले बताए। अस्पताल पुर्याइएपछि मात्रै घटनाबारे जानकारी पाएको प्रहरीले तत्कालै अनुसन्धान अगाडि बढाएको थियो।
इन्स्पेक्टर कार्कीका अनुसार हालसम्म घटनामा संलग्न रहेको आशंकामा दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार हत्याका मुख्य अभियुक्त भने फरार छन्। कार्कीका अनुसार ‘हमार थारु घर एण्ड रेष्टुरेन्ट का सञ्चालकले नै निरजको हत्या गरेको खुलेको छ। उनी पनि दाङकै रहेको कार्कीले बताएका छन्।
निरज ‘हमार थारु घर एण्ड रेस्टुरेन्ट’को नजिकै पोल्ट्री फार्म सञ्चालन गर्दै आएका थिए। विगतमा ‘हमार थारू घर एण्ड रेस्टुरेन्टका सञ्चालक चौधरी र निरज सँगै बस्थे।
‘हत्या गरिएका निरजलाई हत्या फरार रहेका आरोपीले विदेश पठाइदिने भनेर पैसा लगेको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ,’ एसपी पौडेलले भने ‘त्यही पैसा माग्दा आपसमा विवाद भएको र होटेल भित्रै गोली हानेर साहु फरार भएको भन्ने हालसम्मको अनुसन्धानबाट खुलेको छ।’ एसपी पौडेलका अनुसार निरजमाथि गोली प्रहार गरिसकेपछि रेस्टुरेन्ट सञ्चालकले नै कसैलाई थाहा नदिई घाइते भएको भनेर उपचारका लागि दुई जनालाई अस्पताल लैजान लगाएका थिए।
उनले नजिकैको जिल्ला अस्पताल नपठाएर टाढा नेपालगन्जमा रहेको नर्सिङ होममा पठाएका थिए। प्रहरीले रेस्टुरेन्टका कर्मचारीसँग पनि सोधपुछ गरेको थियो। एक कर्मचारीले निरज पैसा माग्न आइतबार त्यहीँ गएका थिए। त्यस क्रममा विवाद बढेपछि फरार आरोपीले बन्दुक ताक्दा ‘एक्सिडेन्ट्ली’ गोली चल्न पुगेको भन्ने बयान दिएका छन्।
हत्या गरिएका निरजका बाबु आमा रोजगारीको खोजीमा छिमेकी देश भारतमा बस्दै आएको हुँदा उनीहरू आएपछि मात्रै पोष्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ।
Facebook Comment