अन्ततः ज्यान गुमाएकी अञ्जु थारुकी ७ वर्षीया छोरीले पाइन् जन्म दर्ता

नागरिकता नपाउँदा बर्दियामा बाबु-छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबारदेखि काम थालेको छ। समिति सदस्य तथा गृह मन्त्रलयका उपसचिव कुलशेखर अर्यालका अनुसार घटनास्थलमा पुगेर यथार्थ विवरण बुझ्दै मृतक अञ्जु थारुकी ७ वर्षीया छोरी अनिता थारुको जन्म दर्ता र मृतक अञ्जु थारुको मृत्यु दर्ता स्थानीय वडा कार्यालयमा गरिएको छ।

‘हामीले समग्र वस्तुस्थिति बुझ्दा मुख्य समस्या अञ्जुकी छोरीको जन्मदर्ता र उनको मृत्यु दर्ता नभएको भन्ने थाहा भएकोले त्यो समस्या अब निराकरण भएको छ,’ उनले भने, ‘हामीले आज वडा कार्यालयमै पुगेर अन्जुको मृत्यु दर्ता र उनको छोरीको जन्मदर्ता (अन्जुको श्रीमान् अनिलको नामबाट) गरेका छौं।’ अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा र पक्राउ पूर्जी जारी भएको भन्दै उनले मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको जनाए।

समिति संयोजक सुरेश पन्थीको नेतृत्वमा सबै सदस्यहरु बढैयाताल-४ मा पुगेका थिए। समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरेको थियो। बर्दियाको बढैयाताल-४ दक्षिण भकारीकी २१ वर्षीया अञ्जु थारू पतिबाट उपेक्षित भएपछि अदालतले अंशको फैसला गरेको थियो, तर नागरिकता नहुँदा उनले अंश पाउन सकिनन्। गृह मन्त्रालयको मंसिर २१ गते सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव अर्याल र बर्दियाका सहायक सीडीओ अशोककुमार भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरिएको छ। समितिलाई प्रतिवेदन बुझाउन पाँच दिनको समयावधि दिइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *