खिचरा महोत्सव : दिउँसो १ बजेसम्म टिकट निशुल्क, पार्किङ पूर्ण रूपमा निशुल्क
कारी महतो/चितवन
हरेक वर्ष खिचरा पर्वको अवसरमा आयोजना हुने खिचरा महोत्सवको ११औं संस्करण यस वर्ष पुस २९ देखि माघ १० गतेसम्म हुने भएको छ। सुर्ताना स्कुलको चौरबाट शुरु भएको महोत्सव खैरहनी माविको चौर हँदै खैरहनी नगरपालिका-५ को गौचरनमा हुनेछ। आज भएको पत्रकार सम्मेलनमार्फत मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए।
महोत्सवको प्रमुख उद्देश्य थारू कला सँस्कृतिको संरक्षण तथा थारू खानाका परिकारहरुको प्रवर्द्धन गर्नु हो। महोत्सव अवधिभर हरेकदिन थारू साँस्कृतिक कार्यक्रमलाई हामीले विशेष प्राथमिकतामा राखेका छौं। महोत्सवमा विविध साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ।
महोत्सवमा सर्वसाधारण सबैको पहुँच बढाउनका लागि हरेक दिन १ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। दिउँसो १ बजेपछि आउने अवलोकनकर्ताहरुले रु १०० को टिकट लाग्ने तथा विद्यार्थी सहुलियतका लागि ७० को टिकट लाग्ने जनाइएको छ। थप सुविधा लिन चाहने दर्शकहरूले ऐच्छिक रूपमा २०० को विशिष्ट टिकट लिन सक्ने जनाइएको छ। जेष्ठ नागरिक र अपाङ्गहरूलाई पूर्ण रूपमा निःशुल्क प्रवेश गराइनेछ। पार्किङ पूर्वरूपमा निःशुल्क हुनेछ।
‘राष्ट्रिय एकता र विविधता हाम्रो शान! बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान!!’ मूल नाराका साथ महोत्सव लाई भब्य र सभ्यरूपमा सफल पार्नका लागि ३५१ सदस्यीय मूल आयोजक समिति र १५ वटा विषयगत समितिहरू गठन गरिएको छ। खैरहनी नगरपालिका-७ का वडाअध्यक्ष मनेजर महतो-९ का वडाअध्यक्ष बन्धुराम महतो र वडा-१० का वडाअध्यक्ष चन्द्रविक्रम चौधरी तीनैजना महोत्सवको सहसंयोजकका रूपमा रहेका छन्।
महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीय कला सँस्कृतिको प्रवर्द्धन, स्थानीय स्तरमा उत्पादिन वस्तुको प्रवर्द्धन गराउन १५० वटा स्टल रहने छ। थारू जातिका लगायत विभिन्न जातिका खानाका परिकारहरू बिक्री वितरणका लागि २४ वटा होटल स्टल रहने जनाइएको छ। महोत्वलाई थप आकर्षक बनाउनका लागि यस वर्ष महोत्सव परिसरमा थारू आर्ट ग्यालरी, बौद्धनाथ गुम्बा निर्माण गरिने र ओपेरा हाउस निर्माण गरिने भएको छ। प्रतियोगितात्मक कृषि उपज प्रदर्शनीको सम्पूर्ण आयोजना तथा व्यवस्थापन खैरहनी नगरपालिकाबाट गरिने भएको छ।
महोत्सवको संरक्षक खैरहनी नगरपालिका र थारू कल्याणकारिणी सभा, चितवन संरक्षकको रूपमा रहेको छ। महोत्सवको प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह सहप्रायोजकको रूपमा छन्। महोत्सव थारू कल्याणकारिणी सभा, क्षेत्र नं ७, चितवनले आयोजना गरेको हो।
Facebook Comment