खिचरा महोत्सवमा तीन युवती कलाकारको सिर्जनाले तान्यो दर्शकको नजर

कारी महतो/खैरहनी
११औँ संस्करणको खिचरा महोत्सवमा प्रवेश गर्ने बित्तिकै मूल गेट अगाडि उभिएका दुई रुख र मन्दिरको उत्तरपट्टि रहेको आर्ट ग्यालरीले अवलोकनकर्ताको ध्यान तानिरहेको छ। प्रदर्शनीमा राखिएका मनमोहक पेन्टिङ र विविध कलाकृतिले दर्शकलाई क्षणभर टक्क अडिन बाध्य बनाउँछन्। नजिकै गएर नियाल्दा र प्रदर्शकसँग संवाद गर्दा उनीहरू झन् उत्साहित देखिन्छन्।

त्यो आकर्षक आर्ट ग्यालरी खैरहनी-८ मा स्थापना गरिएको ‘आर्टिमुन्स स्टुडियो’ का सिर्जनाहरूको प्रदर्शनी हो, जसलाई सुमिना चौधरी, सरिना चौधरी र गुराँस ढुंगाना, तीन सिर्जनशील युवती कलाकारले संयुक्तरूपमा सञ्चालन गरेका छन्।

महोत्सव अवधिभर उनीहरूले आफैंले बनाएका पेन्टिङ तथा कलाकृतिहरूको बिक्री/वितरण गरिरहेका छन्। साथै, अवलोकनकर्ताको उत्साह बढाउँदै फेसपेन्टिङ सेवा पनि प्रदान गरिरहेका छन्, जसले विशेषगरी बालबालिका र युवापुस्तालाई आकर्षित गरेको छ।

सुमिना र सरिना चौधरी दिदीबहिनी हुन्। उनीहरू राप्ती नगरपालिका वडा नं. ६, बेल्डिहा निवासी हुन् र दुवैले ललितकला क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेका छन्। स्नातकपछि विभिन्न विद्यालयमा आर्ट शिक्षकका रूपमा अध्यापन गर्ने क्रममा उनीहरूको भेट अर्की कलाकार गुराँस ढुंगानासँग भयो। गुराँस खैरहनी नगरपालिका वडा नं. ३, लदरी निवासी हुन् र हाल सोही विषयमा स्नातक तहमा अध्ययनरत छिन्।

सुमिना चौधरी हालः सैनिक आवासीय महाविद्यालयसहित विभिन्न विद्यालयमा आर्ट शिक्षकका रूपमा कार्यरत छिन् भने सरिना चौधरी ग्लोसाइन एकाडेमीमा अध्यापनरत छिन्। गुराँस ढुंगाना रत्ननगरस्थित शिक्षा विकास बोर्डिङ स्कुल र खैरहनीको ओसियन एकाडेमीमा आर्ट शिक्षकको रूपमा कार्यरत छिन्।

तीनैजनाको संयुक्त लगानी र सिर्जनात्मक सपनाबाट खैरहनी नगरपालिका वडा नं. ८ मा आर्टिमुन्स स्टुडियो स्थापना गरिएको हो। स्टुडियोमा चित्रकला तथा पेन्टिङ सिकाइनुका साथै उनीहरूले तयार पारेका आकर्षक पेन्टिङ र कलाकृति सामग्रीहरूको बिक्री पनि हुँदै आएको छ। घर, विद्यालय तथा क्याफेहरूमा आकर्षक वालपेन्टिङ गर्नु उनीहरूको अर्को विशेषता हो। साथै, विभिन्न उमेर समूहका विद्यार्थीहरूका लागि चित्रकला र पेन्टिङसम्बन्धी विशेष कक्षाहरू पनि सञ्चालन गर्दै आएका छन्।

खिचरा महोत्सवमा आर्टिमुन्स स्टुडियोको उपस्थितिले महोत्सवलाई थप रङ्गीन बनाएको छ। युवती कलाकारहरूको सिर्जनशीलता, आत्मविश्वास र उद्यमशीलताले स्थानीय कला क्षेत्रलाई नयाँ ऊर्जा र प्रेरणा प्रदान गरेको देखिन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *