स्थानीय माटोबाट विश्वस्तरीय डिजाइनसम्म: विश्व चौधरीको सिर्जनात्मक यात्रा
कारी महतो/चितवन
चितवनको राप्ती नगरपालिका वडा नं. ६, बेल्डिहा, यो केवल एउटा ठेगाना मात्र होइन, यही माटोबाट जन्मिएका एक युवा आर्किटेक्टको पहिचान पनि हो। यही ठाउँका निवासी विक्रम महतोका छोरा विश्व चौधरी आज स्थानीय स्तरमै रहेर आधुनिक वास्तुकलाको परिचय स्थापित गरिरहेका छन्।
विश्वले २०७२ सालमा काठमाडौं इन्जिनियरिङ कलेजबाट आर्किटेक्चर इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरे। अध्ययन सकेपछि उनले सीधै व्यवहारिक क्षेत्रमा पाइला टेके। शहरी विकास मन्त्रालय अन्तर्गतको भवन विभाग, बबरमहलमा ६ महिना काम गर्दै सरकारी संरचना, नक्सा र मापदण्डबारे अनुभव सँगाले। त्यसपछि उनले त्रिपुरेश्वरस्थित सिई कन्स्ट्रक्सनमा दुई वर्ष काम गर्दै निजी क्षेत्रको परियोजना, साइट म्यानेजमेन्ट र डिजाइन-निर्माण प्रक्रियामा आफूलाई निखारे।

अनुभवले परिपक्व बनाएको आत्मविश्वाससहित विश्वले आफ्नै व्यवसायिक यात्राको थालनी गरे। उनले खैरहनी नगरपालिका वडा नं. ८, पर्सा बजारमा ‘वन्डरस कन्स्ट्रक्सन प्रा.लि.’ स्थापना गरे। हाल उनी हिमालयन बैंकको माथिल्लो तल्लामा कार्यालय सञ्चालन गर्दै आर्किटेक्चरल डिजाइन, थ्रीडी भिजुअलाइजेसन र कन्स्ट्रक्सन, इन्टेरियर डिजाइनसम्बन्धी काम गर्दै आएका छन्।
विश्व चौधरीको सिर्जनात्मक क्षमता हालै सम्पन्न खिचरा महोत्सवमा झन् प्रस्ट देखियो। महोत्सव परिसरभित्र निर्माण गरिएको ओपेरा हाउस, बौद्धनाथ गुम्बा, प्रवेशद्वार (गेट) डिजाइन, स्टेज डिजाइन, ग्यालरी हाउस, महोत्सवको थ्रीडी आर्ट र एनिमेशन लगायत सम्पूर्ण डिजाइनको जिम्मेवारी उनले एक्लैले सम्हाले । परम्परा र आधुनिकताको सन्तुलन मिलाएर तयार गरिएका ती संरचनाले महोत्सवलाई केवल सांस्कृतिक कार्यक्रम मात्र नभई एक दृश्यात्मक अनुभव बनाइदियो।

स्थानीय पर्व, संस्कृति र समुदायको पहिचानलाई आधुनिक डिजाइन भाषामा उतार्नु विश्वको विशेषता हो । उनका डिजाइनमा केवल सुन्दरता मात्र होइन, सांस्कृतिक अर्थ र भावनात्मक सम्बन्ध पनि देखिन्छ । यही कारण उनका कामले दर्शकको ध्यान मात्रै तानेन, स्थानीय स्तरमै आर्किटेक्चरले कति ठूलो प्रभाव पार्न सक्छ भन्ने उदाहरण पनि प्रस्तुत गर्यो ।
विश्व चौधरी आज पनि ठूला शहर वा विदेशको मोहभन्दा आफ्नै क्षेत्रमै रहेर भविष्य खोजिरहेका छन् । उनी भन्छन्, “स्थानीय माटो, संस्कृति र आवश्यकता बुझेर गरिएको डिजाइन नै दिगो हुन्छ ।” यही सोचका साथ उनी चितवनबाटै विश्वस्तरीय वास्तुकलाको सपना कोर्दै अगाडि बढिरहेका छन् ।
Facebook Comment