सुनसरी-३ मा विरासत फर्काउने कसरतमा विजय गच्छदार
सुनसरी क्षेत्र नम्बर–३ को प्रतिनिधिसभा निर्वाचन यसपटक पनि पुराना राजनीतिक दलका प्रतिद्वन्द्वीहरूबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ। पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदार र पूर्वमन्त्री तथा नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती चौधरीबीच चौथो पटक पनि मुख्य प्रतिस्पर्धा हुने भएको छ। २०७९ को निर्वाचनमा गच्छदारको दशकौं लामो राजनीतिक विरासत भत्काउँदै ऐतिहासिक जित निकालेकी भगवती चौधरी पुनः एमालेको टिकटसहित चुनावी मैदानमा उत्रिएकी छिन्। गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा मतदाता खुसी पार्न लागि रहेका छन्।
२०४८ सालदेखि सुनसरी–३ मा लगातार निर्वाचन जित्दै आएका विजयकुमार गच्छदार २०७९ मा पहिलोपटक पराजित भएका थिए। ६ पटक संसदीय निर्वाचन जितेका गच्छदारका लागि त्यो पराजय सामान्य हारमात्र नभएर उनको राजनीतिक यात्रामा पूर्णविरामको सावित भयो। दशकौंसम्म अपराजित रहँदै आएका गच्छदारलाई पराजित गर्दै भगवती चौधरी सुनसरी–३ मा उदाउन सफल भइन्। यही जितको आधारमा भगवती संघीय सरकारमा मन्त्रीसमेत बन्न सफल भइन्, जसका कारण उनको राजनीतिक उचाइ थप मजबुत बन्यो।
भगवती चौधरी र विजय गच्छदारबीचको प्रतिस्पर्धा १२ वर्षदेखि निरन्तर चलिरहेको छ। २०७० र २०७४ को निर्वाचनमा भगवती गच्छदारसँग पराजित भएकी थिइन्। दुई पटकको पराजयपछि पनि मैदान नछाडेकी भगवतीले तेस्रो प्रयासमा २०७९ मा गच्छदारलाई हराउँदै बदला पूरा गरिन्। त्यसैले यसपटकको निर्वाचनलाई राजनीतिक वृत्तमा उनीहरूबीच ‘निर्णायक चौथो भिडन्त’ का रूपमा हेरिएको छ। एकातिर गच्छदार आफ्नो राजनीतिक विरासत जोगाउने तथा पुनःस्थापित गर्ने प्रयासमा छन् भने अर्कोतिर भगवती आफ्नो जितलाई निरन्तरता दिन लागिपरेकी छिन्। गच्छदार र भगवतीको दौडधुपले सुनसरी–३ मा फेरि पनि उनीहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
२०७९ को जितपछि मन्त्री बनेकी भगवती चौधरीले आफू विकास र स्थायित्वको प्रतिनिधि भएको दाबी गर्दै आएकी छिन्। मन्त्रीको हैसियतमा सुनसरी–३ का पूर्वाधार, सडक, खानेपानी, शिक्षा, ज्येष्ठ नागरिक, महिलालगायतका विषय सरकारसम्म पुर्याएको उनको भनाइ छ। २०७९ मा जनताले परिवर्तन रोज्नुभयो, भगवती भन्छिन्, ‘मैले सरकारमा बसेर सुनसरी–३ को विकासका लागि एक अर्बभन्दा बढी बजेट ल्याएर यहाँको विकास गरेकी छु। यहाँका अधुरा योजना पूरा गर्न फेरि पनि जनताको विश्वास जित्न आवश्यक छ।’
विजयकुमार गच्छदार पनि २०७९ को पराजयलाई अस्थायी ठहर गर्दै पुनः जितको दाबी गरिरहेका छन्। दशकौंको राजनीतिक अनुभव, पटक–पटक मन्त्री भएर यहाँ गरेको विकासको इतिहास नै चुनाव जित्ने आफ्नो बलियो पक्ष भएको उनको भनाइ छ। ‘मैले सुनसरी–३ लाई राष्ट्रिय राजनीतिमा चिनाएको छु,’ गच्छदार भन्छन्, ‘मैले प्रजातन्त्र प्राप्तिका लागि गरेको योगदान, यहाँ गरेको विकास र कांग्रेसको बलियो संगठन चुनाव जित्ने मुख्य आधार हुन्। जनताले मेरो योगदान बिर्सेका छैनन्।’ उनले पार्टीभित्र देखिएको असन्तुष्टिलाई समाधान गरेर एकताबद्ध रूपमा चुनाव लड्ने प्रयास भइरहेको पनि बताए।
उमेर ढल्कँदै गएको कारण विजयलाई पुनः उम्मेदवार बनाइएको भन्दै कांग्रेसको युवा पुस्ता र केही नेताहरू विजयको विरुद्धमा लागेका छन्। यो असन्तुष्टि यदि मतमा परिणत भयो भने गच्छदारको चुनावी गणित कमजोर बन्न सक्ने आकलन गरिएको छ। विजयले असन्तुष्ट नेता–कार्यकर्तालाई मिलाउन सके भगवतीसँग प्रतिस्पर्धा कडा हुने देखिएको छ। कांग्रेसको आन्तरिक असन्तुलन नै गच्छदारको सबैभन्दा कमजोर पक्षका रूपमा हेरिएको कार्यकर्ताको भनाइ छ।
सुनसरी–३ थारू समुदाय बाहुल्य क्षेत्र हो। यहाँ थारू मतदाताको भूमिकाले नतिजामा निर्णायक प्रभाव पार्ने अनुमान गरिएको छ। यही मत आधारलाई लक्षित गर्दै कांग्रेस र एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अशोक चौधरी र नेपाली कम्युनिस्ट पार्टीले दुर्गेश चौधरीलाई उम्मेदवार बनाएका छन्। यद्यपि दुवै पार्टीको संगठन यस क्षेत्रमा कमजोर रहेकाले मुख्य प्रतिस्पर्धा भने भगवती र गच्छदारबीच नै सीमित हुने देखिन्छ।
रास्वपा उम्मेदवार अशोक चौधरीले आफू पुराना राजनीतिक अनुहारको विकल्प भएको दाबी गरेका छन्। सुनसरी–३ का जनताले दशकौंदेखि उही नेताहरू देखे। अब नयाँ सोच र नयाँ शैलीको राजनीति चाहिएको छ। संगठन कमजोर देखिए पनि जनताको चाहना आफ्नो पक्षमा रहेको अशोकको दाबी छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दुर्गेश चौधरीले पनि यस पटकको चुनाव आफूले नै जित्ने बताए। उनले वर्गीय राजनीति र थारू समुदायका मुद्दालाई संसदमा यसअघि जितेकाहरूले पूरा गर्न नसकेको बताए।
समग्रमा सुनसरी–३ को निर्वाचन पुरानो राजनीतिक विरासत र नयाँ शक्ति सन्तुलनबीचको संघर्षका रूपमा पनि हेरिएको कांग्रेस सुनसरीका महाधिवेशन प्रतिनिधि रवि राईले बताए। मन्त्री बनेर सरकारमा अनुभव बटुलेकी भगवती चौधरी र धेरै पटक मन्त्री तथा उपप्रधानमन्त्री बनेर आफ्नो दशकौं लामो प्रभाव पुनःस्थापित गर्न चाहने विजयकुमार गच्छदारबीचको चौथो भिडन्तले सुनसरी–३ को राजनीतिक भविष्यमात्र होइन, राष्ट्रिय राजनीतिमा समेत सन्देश दिने अपेक्षा गरिएको उनको भनाइ छ। सुनसरी क्षेत्र नम्बर–३ मा १ लाख ३४ हजार ३ सय २ मतदाता रहेका छन्। जसमध्ये ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ।
Facebook Comment