रेशम चौधरीलाई उम्मेदवार बन्न रोक लगाउने सर्वोच्चको आदेशमा के छ?
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उमेदवार खारेजीविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सर्वोच्चमा आइतबार न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा निर्वाचन आयोग र रिट निवेदकबीचको दुईपक्षीय सुनुवाइ सकिएपछि माग अनुरुप अन्तरिम आदेश दिन अस्वीकार भएको हो। यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित बोलाएको थियो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गरेका उनको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि सर्वोच्चमा रिट परेको हो। चौधरीले आफ्नो उमेदवारी खारेजीविरुद्ध माघ ९ गते सर्वोच्चमा रिट दिएका थिए। आयोगले कसुर र कैदको अभिलेख कायमै हुने भन्दै उमेदवारी खारेज गर्ने निर्णय गरेपछि चौधरी सर्वोच्च गएका हुन् कैलाली क्षेत्र नम्बर १ मा चौधरीले उमेदवारी दिएका थिए।


Facebook Comment