मौसमले निर्वाचनलाई प्रभाव पार्ने अवस्था देखिएन
२१ फागुनमा निर्वाचनको मिति तोकिएपछि मौसम प्रतिकूलताको चिन्ता व्याप्त थियो। विशिष्ट राजनीतिक परिस्थितिका कारण तोकिएको चुनाव भएकाले मौसम पूर्वानुमानबारे खासै ख्याल गरिएको थिएन।
निर्वाचन आयोगलाई अहिले भने चुनाव अवधिको मौसम पूर्वानुमानले ढुक्क बनाएको छ। मौसम प्रतिकूलताले निर्वाचनमा असर पार्ने समस्या नदेखिएको भन्दै प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमेत निश्चिन्त देखिए।
‘अहिले जल तथा मौसम विज्ञान भनेअनुसार मौसमले निर्वाचनमा प्रभाव गर्ने देखिँदैन। यसको अन्तिम रिपोर्ट फागुन १५ गते आउँछ,’ उनले भने, ‘एकहप्ताको विश्लेषण चाहिँ ठोस विश्लेषण हुन्छ।’ १५ गतेपछि मात्रै मौसमको ठोस विश्लेषण हुने देखिएको छ।
स्थलगत निरीक्षण गरेर आएका आयोगका कर्मचारीहरू पनि मौसम प्रतिकूतला निर्वाचन रोकिन अवस्था नरहेको बताउँछन्। हिमाली जिल्ला पुगेर आएका आयोगका सहप्रवक्ता प्रकाश न्यौपानेले बस्तीहरूमा हिउँ नरहेको बताए। उनले भने, ‘हिउँ पर्ने जिल्लाहरूमा भर्खर्रै हामी पुगेर आएका छौं। बस्तीहरूमा हिउँ छैन। अब चुनावको एकहप्ता बाँकी छ। मौसम निखारिँदै छ, उनले भने, ‘केही–केही ठाउँमा बाटोमा समस्या हो। त्यहाँ हेलिकप्टरबाट जाने व्यवस्था गरिएको छ। यो बीचमा हिउँ परेर अवरुद्ध भयो भने फरक परिस्थिति बन्छ।’ उनले हुम्ला, डोल्पा, जुम्ला, मुगुमा हिउँ नभएको जानकारी दिए। सहायक प्रवक्ता न्यौपानेका अनुसार सोमबारसम्मको अवस्था हेर्दा चुनाव गराउन सकिने अवस्था छ।’ कतिपय स्थलमा सुरक्षा निकायले हिउँ पन्छाएर मतपत्र लिएर गएको छ।
उता पूर्वीपहाडी जिल्लामा पुगेर फर्किंदै गरेका आयोग सहायक प्रवक्ता आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी मौसमले कुनै असर पर्ने बताए। आयोगका उपसचिव जिसी संखुवासभा, भोजपुर र तेह्रथुप पुगेर फर्किएका छन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले चुनावको आसपास मौसम सफा नै रहने देखिएको जानकारी दिए। ‘मौसमले निर्वाचनलाई प्रभाव पर्ने अवस्था देखिएको छैन,’ उनले सोमबार साँझ अन्नपूर्ण पोस्ट्सँग भने।
निर्वाचन आयोग पूर्णतयारीमा छ : आयोग
निर्वाचन आउन जतिनजिक छ, त्यति नै माहोल तातिएको छ। निर्वाचन आयोग तीव्र रूपमा निर्वाचनको तयारीमा जुटेको छ। तोकिएको समयमा निर्धकताका साथ चुनाव गराउन आयोग तम्तयार छ। केही शक्तिहरू निर्वाचनलाई बिथोल्न लागे पनि हरहालतमा निर्वाचन गराएरै छाड्ने कार्यवाहक प्रमुख निर्वाचन प्रवक्ता भण्डारी बताउँछन्। उनका अनुसार निर्वाचन व्यवस्थापनको काम लगभग सकिएको जानकारी दिए।
‘मतपत्र ढुवानीलगायत निर्वाचन सामग्रीहरू सम्बन्धित क्षेत्र, मतदानस्थल र मतदान केन्द्रमा पुग्ने क्रम जारी छ,’ उनले भने, ‘मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम चलिरहेको छ।’ मंगलबार तालिम सकिएलगत्तै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सम्बन्धित स्थलमा जानेछन्।
Facebook Comment