चितुवा र पाटेबाघको आक्रमणमा परी ७ वर्षीय आदित्य चौधरीको मृत्यु, ४ जना घाइते
बर्दियामा एकैदिन चितुवा र पाटेबाघको आक्रमणमा परी बालकको मृत्यु भएको छ। ४ जना घाइते भएका छन्। बुधबार राजापुर नगरपालिका-१० स्थित कालावञ्जरमा चितुवा र गुलरिया नगरपालिका-२ स्थित गुजर बस्तीमा पाटेबाघले आक्रमण गरेको हो।
चितुवाको आक्रमणबाट घाइते स्थानीय ७ वर्षीय आदित्य चौधरीलाई बर्दिया स्थित गुलरिया अस्पतालमा पुर्याइएकोमा उनको मृत्यु भएको अस्पतालकी स्वास्थ्य सहायक पूजा खत्रीले जानकारी दिइन्। अन्य घाइतेहरू उपचारपश्चात फर्किएका छन्।
चितुवाको आक्रमणबाट घाइते हुनेमा राजापुर कालावञ्जरका अन्दाजी ४१ वर्षीय धनीराम थारु, ३८ वर्षीय श्यामलाल थारु र ४० वर्षीय कृतिमान थारु छन्। घर छेउमा खेलिरहेको बालकलाई चितुवाले आक्रमण गरी बारीमा पुर्याएको थियो। चितुवाबाट बालकलाई छुट्याउने क्रममा अन्य घाइते भएका थिए।
बुधबार दिउँसो बर्दियाको गुलरिया नगरपालिका-२ स्थित गुजर बस्तीका ५० वर्षीय नसरुद्दिन गुजरलाई पाटेबाघले आक्रमण गरी घाइते बनाएको छ। गहुँबारी अवलोकनका लागि गएका उनलाई एक्कासि पाटेबाघले आक्रमण गरेको गुजरले बताएका छन्।
बाघले उनको घाँटी र तिघ्रामा चिथोरेको छ। सामान्य अवस्था रहेका उनी बर्दिया अस्पतालमा उपचारपश्चात डिस्चार्ज भएका छन्। एकैदिन चितुवा र बाघले ५ जनालाई आक्रमण गरेको अवस्थाले स्थानीय त्रसित बनेका छन्।
Facebook Comment