६ दलले राष्ट्रिय दलको मान्यता पाउँदा रेशमको पार्टीले समानुपातिकमा ल्यायो जम्मा ६१,८७८ मत

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फमा ६ दलले मात्रै थ्रेसहोल्ड कटाएका छन् । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी हावी हुँदा कांग्रेस एमालेसहित अन्य दलहरू खुम्चिएका छन् । थ्रेसहोल्ड कटाउनेमा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा रहेका छन् । कुल १ करोड ७ लाख ८५ हजार ८७६ मतमा रास्वपाले ५१ लाख ५७ हजार ९३० (४७.८२ प्रतिशत) मत पायो ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२ मत (१६.२८ प्रतिशत) पाउँदा तेस्रो स्थानमा रहेको १४ लाख ५२ हजार ७५८ मत (१३.४७ प्रतिशत) पायो । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ९ हजार ५७७ मत (७.५१ प्रतिशत), पाँचौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ मत (३.५८ प्रतिशत) र छैटौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार २६८ मत (३.०६ प्रतिशत) मत पायो ।

प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालले समानुपातिकतर्फ ६१ हजार ८७८ मत ल्याएको छ। प्रत्यक्षतर्फ रास्वपाले १२५, कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृतिले ३ र राप्रपाले १ ठाउँमा जित निकाल्दा, एक सीट स्वतन्त्रले जितेको छ ।

यो मत परिणाम अनुसार रास्वपालाई दुई तिहाइ पुग्नको लागि दुई सीट कम हुने देखिएको छ । दुई तिहाइ पुग्नको लागि १८४ सीट चाहिन्छ । तर, समानुपातिकतर्फ रास्वपाले पाएको मत अनुसार उसले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले ४/४ सीट पाउने भएका छन् । अब प्रत्यक्ष र समानुपातिक गरी संसद्मा रास्वपाको १८२, कांग्रेसको ३८, एमालेको २५, नेकपाको १७, श्रम संस्कृतिको ७, राप्रपाको ५ र एक स्वतन्त्र सांसद हुनेछन् ।

निर्वाचन आयोगका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ सम्बन्धित निर्वाचन क्षेत्रबाट मतगणनाको प्रतिवेदन सङ्कलन गर्ने काम भइरहेको बताए । त्यसलगतै समानुपातिकतर्फ प्राप्त गरेको सीट सङ्ख्या यकिन गरेर उम्मेदवार सिफारिस गर्नको लागि सम्बन्धित दललाई पत्राचार गरिने बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *