नेता बन्न कानुन् पढेकी गीता चौधरीको संसद यात्रा

भवानी भट्ट/कान्तिपुरबाट

कञ्चनपुरकी गीता चौधरी सामान्य कृषक परिवारकी हुन् । उनका हजुरबुबा कमैया बसेका थिए । उनले कमैया बसेकै बेला पनि छोराछोरीलाई स्कुल पठाए । बुबा र फुपुहरुले स्कुल गएकै कारण गीताका लागि झनै सहज भयो । स्कुल पढ्दा उनी सानैदेखि बाल क्लब हुँदै युवा क्लबलगायतका विभिन्न संघसंस्थामा आवद्ध हुन थालिन् ।

गाउँमा वालविवाह रोक्ने विषयमा होस् वा समाजमा हुने गलत विषयमा उनी अगाडि बढेर विरोध गरिहाल्थिन् । यहीँ भएर उनलाई साथीभाई र केही गाउँलेले ‘नेता’ को उपमा दिन्थे । तर गितालाई जिस्क्याएजस्तै लाग्थ्यो । एकदिन उनले आफ्नै शिक्षकलाई नेता हुन के गर्नुपर्छ ? भनेर सोधिन् । शिक्षकले धेरै अध्ययन गर्नुपर्ने, कानुनको ज्ञान हुनुपर्नेलगायतका कुरा भनेपछि उनलाई कानुन पढ्ने रहर जाग्यो । नहुँदै उनले एसएलसी उत्तीर्ण गरेपछि कानुनबाटै स्नातकोत्तरसम्म अध्ययन गरिन् । त्यसपछि काठमाडौंमै वकालत गर्न थालिन् ।

नेता हुन कानुन पढेर वकालतमा लागेकी तिनै ३३ वर्षीया गीतालाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनाएको छ । स्कुल पढ्न जाँदा उनको समुदायका किशोरीहरु कतिपय कम्लरी बस्न गइरहेका थिए भने कतिपय घरकै काममा हुन्थे । थोरै स्कुल जाने पनि दुई/चार कक्षाबाटै पढाइ छाड्थे । तर उनले छाडिनन् । त्यसकै प्रतिफल आज उनी सांसद बनिन् ।

गीतालाई सांसदको पद खुसीसँगै ठूलो भारी पनि बनेको छ । जनताका इच्छा र आकांक्षा धेरै भएकाले तिनको सम्बोधन अनिवार्य भएको उनले बताइन् । उनी हुर्केको ठाउँमा अहिले पनि बाढीले हुने कटान, डुबानसँगै अव्यवस्थित बसोबास, तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापित भएकाहरुको पुर्नस्थापना र मुक्त कमैयाले अझै लालपूर्जा नपाएकालगायतका समस्या छन् । ‘अहिले पनि धेरै बस्ती कटान र डुबानले प्रभावित हुने गरेको छन्,’ उनले भनिन्, ‘तिनको दीगो व्यवस्थापन गर्न आवश्यक छ, त्यसका लागि मेरो पहल रहनेछ ।’

आरक्ष बिस्तारका क्रममा घरबारबिहीन भएकाहरुको पीडा उनले नजिकबाटै नियालेकी छिन् । उनले गाउँनजिकै पनि विस्थापित हुँदाका पलहरु आफ्नै आँखाले देखेकी छिन् । यसबाहेक अहिले पनि कतिपयले उपचार नपाएर ज्यान गुमाउनुपरेको छ । विपन्न समुदायले अहिले पनि शिक्षा सहजै पाउन सकेका छैनन् । ‘यी सबै समस्या समाधान गर्नु मेरो पहिलो उद्देश्य हुनेछ,’ चौधरीले भनिन्, ‘यसका लागि नीतिगत रुपमै सुधार गर्नुपर्ने हुन्छ, जुन समुदायबाट म आए त्यो समुदायका सामाजिक न्यायका कुरा पनि छन्, तिनको सम्बोधन पनि गर्नुपर्ने छ ।’ उनले गाउँमा विभिन्न संघसंस्थामा काम गर्दा मण्डपबाटै वालविवाह रोकेको कुरा सम्झदै अहिले पनि ग्रामीण भेगमा यो समस्या जारी रहेको बताइन् ।

चौधरी अहिले पनि मानव अधिकारका क्षेत्रमा कार्यरत थिइन् । युथ एडभोकेसी नेपाल नामक संस्थाकी संस्थापक समेत रहेकी उनी वकालतसँगै मानव अधिकारका क्षेत्रमा कार्यरत थिइन् । आगामी दिनमा पनि मानव अधिकारका विषयमा आफ्नो पैरवी रहने उनले बताइन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *