बुबा जयरामको नजरमा कृषिमन्त्री गीता चौधरी
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैनाकी ३३ वर्षीय गीता चौधरी कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री बनेपछि बुबा जयराम डगौंराले जनताको हितमा काम गर्न सुझाव दिएका छन्।
‘छोरी मन्त्री बनेको खबरले हाम्रो परिवारमा खुसी छाएको छ,’ गीताका बुबा जयरामले भने, ‘सिङ्गो देशका जनता खुसी हुने गरी छोरीले पाएको जिम्मेवारी बहन गर्न सकोस्।’
राष्ट्रिय स्वतन्त्र पार्टीबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा समानुपातिक सांसद बनेकी गीता यहाँबाट चौधरी समुदायबाट सङ्घीय सरकारको मन्त्री बन्ने पहिलो थारु महिला हुन्। शुक्लाफाँटा नगरपालिका-३ स्थित जनज्योति आधारभूत विद्यालय जोनापुरमा प्रावि तहको अध्ययन गरेकी चौधरीले माध्यमिक तहको अध्ययन राष्ट्रिय मावि पिपलाडीबाट गरेकी थिइन्। झलारी बजारमा रहेको श्रीकृष्ण उच्च माविबाट प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेकी उनले काठमाडौं स्कुल एफ लबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर तह पूरा गरिन्। चौधरी कानुन व्यवसायीसमेत हुन्।
‘सात बहिनी र एक भाइमध्येकी माहिली गीता बाल्यकालदेखि नै अध्ययन र समाजका हुने विभेद् र कुरुतिकाविरुद्ध बोल्थिन्,’ बुबा जयरामले भने, ‘हामी निम्म आयस्रोत भएको परिवारबाट मन्त्री बनेको खबरले हर्षित छौं।’ साधारण लेखपढ गरेका गीताका बुबा जयरामले छोराछोरी पढाउन निकै सङ्घर्ष गरेको बताए।
‘खेती किसानी र पछिल्लो समय सटरिङको काम गरेर घरखर्च र छोराछोरीको खर्च जुटाउँदै आएको छु,’ उनले भने, ‘छोरीको मेहनत र अध्ययन सफलताले यहाँसम्मको सफलता मिलेको हो।’
त्यस्तै मन्त्री गीताका फूपाजु डम्बर चौधरीले अध्ययनका लागि निकै दुखः गरेको बताए। ‘पढाइका लागि ऋण गरेर भए पनि पछि नहट्ने बानी थियो,’ उनले भने, ‘विवाहपछि अध्ययनसँगै र राजनीतिमा होमिएर यो स्थान बनाइन्।’
बुटवलको सैनामैनाका सुनिल चौधरीसित विवाह गरेकी चौधरीका एक छोरी छन्। गीताका श्रीमान सुनिल कृषि क्याम्पसमा अध्यापन गर्छन्। विभिन्न क्लब, बाल क्लब र संस्थामा आबद्ध हुन मन पराउने चौधरी करातेको समेत खेलाडी हुन्। चौधरीले भने, ‘घरको दयनीय अवस्थाकाबीच पनि गीताले गरेको सङ्घर्ष प्रेरणादायी छ।’
नागरिक उन्मुक्ति पार्टीबाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गीता सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी थिइन्। पहिलो पटक उम्मेदवार हुँदा पनि उनले सम्मानजनक मत पाएकी थिइन्। केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी चौधरीलाई रास्वपाले यहाँबाट समानुपातिक उम्मेदवार बनाएको थियो।
Facebook Comment