वनमन्त्री चौधरीद्वारा वन क्षेत्रका चार ठूला निर्णय

वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले वनसम्बन्धी चारवटा मन्त्रीस्तरीय निर्णय गरेकी छन्। उनले काठ तथा वन पैदावार व्यवस्थापनलाई ‘डिजिटल’ प्रणालीमार्फत व्यवस्थित गर्ने, सरकारी तथा सार्वजनिक भवन निर्माणमा स्वदेशी काठ प्रयोगलाई प्राथमिकता दिने, चितवनमा कृष्णसार स्थानान्तरण गर्ने र वातावरणीय सेवा प्रदान गर्दा प्राप्त हुने गैरकरका दरमा समसामायिक परिवर्तन गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ।

वन मन्त्रालयअन्तर्गतका विभाग तथा कार्यालयबाट प्रदान गरिने सेवासुविधालगायत वातावरणीय सेवा प्रदान गर्दा प्राप्त हुने गैरकरका दरमा समसामयिक परिवर्तन गर्ने गरी परियोजनाका लागि सहमति पठाउने निर्णय गरेकी हुन्।

नेपालमा उत्पादन भएका काठ तथा वन पैदावार सङ्कलन, अभिलेख तथा व्यवस्थापनलाई डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्ने मन्त्री चौधरीले निर्णय गरी यसको जिम्मेवारी वन तथा भू-संरक्षण विभागलाई प्रदान गरिएको छ। सो निर्णयअनुसार देशभरका सम्बन्धित सबै वन कार्यालयले अब वन पैदावारको सङ्कलन तथा अभिलेख डिजिटल माध्यमबाट राख्ने व्यवस्था लागू गर्नेछन्। यसले वनजन्य स्रोतको पारदर्शिता, अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने बताइएको छ।

सरकारी तथा सार्वजनिक भवन निर्माणमा स्वदेशी काठ प्रयोगलाई प्राथमिकता दिन यसै आर्थिक वर्षभित्र आवश्यक मापदण्ड तयार गरिने र आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गरिने मन्त्री चौधरीले बताइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *