मकै पोलेर जीविका चलाउँदैछिन् पूर्व उपमेयर थारू

कमल पन्थी/कान्तिपुर टिभीबाट साभार
स्थानीय तहका जनप्रतिनिधिहरू कार्यकाल सकिएपछि के गर्छन् होला ? हामी सबैका अनुमान बेग्लाबेग्लै हुनसक्छन् । तर, बर्दियाको मधुवन नगरपालिकाकी पूर्वउपप्रमुख शुभरानी थारू मकै पोलेर आयआर्जन गरिरहनुभएको छ। जुन झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्छ । तपाईँ यतिखेर मधुवन नगरपालिका-४ माचर चोकतिर पुग्नुभयो भने शुभरानीलाई सडक किनारामा गर्मीसँग पौठेजोरी खेल्दै मकै पोलेर बेचिरहेको भेटाउनुहुनेछ।

१० कट्ठा जग्गा रहेको पूर्वउपप्रमुख शुभरानी थारूको एघार जना सदस्य सगोलमा बस्छन्। आफ्नै खेतमा उत्पादन गरेको मकै उहाँ दिनहुँ माचर चोकमा ल्याएर बेच्ने गर्नुहुन्छ। मकैको सिजन नहुँदा भने घरमा पशुपालनदेखि तरकारी खेतीबाट उहाँ राम्रो आम्दानी गर्नुहुन्छ।

किसानको छोरी भएका कारण जति ठूलो पदमा पुगे पनि श्रम गर्नुपर्छ भन्ने उहाँको धारणा छ। पदमा बस्दा भ्रष्टाचार नगरेको कसैसँग मागेर नखाएकोले श्रम गरेर खाँदा आफूलाई कत्ति पनि लाज नलाग्ने आत्मविश्वासका साथ बताउनुहुन्छ। तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित पूर्वउपप्रमुख थारू अहिले एमाले प्रदेश कमिटी सदस्य हुनुहुन्छ।

श्रीमान फुलराम थारू पनि घरको कामकाजमा श्रीमतीलाई सघाउनुहुन्छ। श्रीमति उपप्रमुख हुँदा पनि उहाँले खेती किसानी छाड्नुभएन। शुभारानीको यो परिश्रम केवल व्यक्तिगत संघर्षको विषय होइन बरू वर्तमान जनप्रतिनिधिहरूका लागि सन्देश पनि हो ।

एक कार्यकाल जनताको प्रतिनिधि भएर काम गरिसकेपछि फेरि पनि पदमै टाँसिन खोजिरहनु भन्दा आफ्नो सीप र श्रममा फर्किनु कुनै कमजोरी होइन बरू गौरवको विषय हो । काम सानो-ठूलो हुँदैन र श्रम गरिखान कहिल्यै लाज हुँदैन भन्ने सन्देश दिने शुभरानी थारू आफ्नै कर्ममा अडिग हुनुहुन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *