शिब बहदुर चौधरीको संयोजकत्वमा थारू उद्यमी व्यवसायी संघ गठन

थारु समुदायका उद्यमी तथा व्यवसायीहरूलाई एकताबद्ध गर्दै आर्थिक, सामाजिक तथा व्यवसायिक सशक्तिकरण गर्ने उद्देश्यले ‘थारु उद्यमी व्यवसायी संघ’ गठन भएको छ।

थारु कल्याणकारिणी सभाको आयोजनामा काठमाडौंको बौद्धस्थित बरघर रेष्टुरेन्टमा भएको थारु उद्यमी तथा व्यवसायीहरूको प्रथम विशेष भेटघाट तथा भेलाले विभिन्न जिल्लाबाट प्रतिनिधित्व हुने गरी १७ सदस्यीय तदर्थ समिति सर्वसहमतिले गठन गरेको हो। सं‌घले थाकसलाई संरक्षको भूमिका प्रदान गर्ने जनाएको छ।

भेलाले थारु समुदायभित्र रहेका उद्यमी, व्यवसायी, पेशाकर्मी तथा उद्यमशील युवाहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै आपसी सहयोग, समन्वय, लगानी विस्तार तथा आर्थिक सशक्तिकरणका लागि संघ स्थापना गर्ने निर्णय गरेको जनाएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले थारु समुदाय आर्थिक रूपमा आत्मनिर्भर बन्न उद्यमशीलताको विकास अपरिहार्य रहेको उल्लेख गर्दै व्यवसायीहरूबीच सहकार्य र अनुभव आदानप्रदानलाई अझ सशक्त बनाउनुपर्ने धारणा राखेका थिए।

भेलाबाट थारु समुदायभित्र रहेका उद्यमी, व्यवसायी, बिभिन्न पेशामा आबद्ध पेशाकर्मीहरुबाट गठित १७ सदस्यीय तदर्थ समितिको संयोजकमा शिब बहदुर चौधरी (दाङ) चयन भएका छन् भने सचिवमा हृदयनारायण चौधरी (उदयपुर) चयन भए।

त्यसैगरी समितिका सदस्यहरूमा सिताराम चौधरी (बर्दिया), नन्दुराज चौधरी (दाङ), किरण चौधरी (कैलाली), गुन्जा चौधरी (बारा), प्रवेश चौधरी (कैलाली), सञ्जय चौधरी (सप्तरी), अर्नव चौधरी (दाङ ), विनोद चौधरी (काठमाडौं), सरला चौधरी (दाङ ), जनार्दन चौधरी (सर्लाही), श्रवण कुमार चौधरी (सप्तरी), कृष्ण चौधरी (दाङ), टिकराम चौधरी (कैलाली), तिलकबहादुर चौधरी (बर्दिया) र सुशीला चौधरी (कैलाली) छन्। यो तदर्थ समिति भएकाले बिस्तारै सबै जिल्लालाई समेटने गरी सदस्य विस्तार गरिने बताइएको छ।

भेलाले आगामी दिनमा संघको विधान निर्माण, सदस्य विस्तार, प्रदेश तथा जिल्ला तहसम्म संगठन विस्तार, उद्यमशीलता विकास तालिम, व्यवसायिक सहकार्य तथा लगानी प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने छ। कार्यक्रममा देशका विभिन्न जिल्लाबाट थारु समुदायका उद्योगी, व्यवसायी, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। संघले निकट भविष्यमा औपचारिक दर्ता प्रक्रिया अघि बढाउँदै राष्ट्रिय भेला आयोजना गरी तदर्थ समितिलाई पूर्णता दिने तथा विधान निर्माणमार्फत संस्थालाई देशव्यापी रूपमा विस्तार गर्ने जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *