संघीयतामाथि कसैले छेडखानी गरे मधेसी जनताले प्रतिरोध गर्छन् : पूर्वमुख्यमन्त्री सोनल

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले संघीय व्यवस्थामाथि छेडखानी गरिए मधेसी जनता प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै सोनलले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने प्रस्ताव अघि सारिएकोप्रति आपत्ति जनाएका हुन्।

उनले संघीयता,समानुपातिक समावेशिता,पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र,निष्पक्ष र सक्षम न्यायपालिकालगागयतका विषयमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे। यी उपलब्धि कुनै पनि बहानामा खारेज गर्ने प्रयास भए मधेसी जनताले त्यसको कडा प्रतिवाद र प्रतिरोध गर्ने उनले चेतावनी दिएका छन्।

सोनलले नेपालको संविधान २०७२मा केही त्रुटि रहेको स्वीकार गर्दै आवश्यक संशोधन र परिमार्जन गर्न सकिने बताए। तर,संविधानले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि कुनै पनि प्रकारको छेडखानी गरिए त्यो मधेसी जनतालाई स्वीकार्य नहुने उनको भनाइ छ।

यसैगरी उनले संघ सरकारले प्रदेश प्रहरी ऐन तत्काल कार्यान्वयन गरी प्रदेश सरकारलाई अझ अधिकारसम्पन्न र बलियो बनाउनुपर्नेमा पनि जोड दिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *