अव्यवस्थित पटेला थारू सङ्ग्रहालय
कैलालीको धनगढी उपमहानगरपालिका–७ स्थित पटेलामा रहेको पटेला थारू सांस्कृतिक सङ्ग्रहालय अव्यवस्थित अवस्थामा रहेको छ ।
सङ्ग्रहालय सञ्चालन र व्यवस्थापनसम्बन्धी स्पष्ट नीति, निर्देशिका नहुँदा केही वर्षअगाडि निर्माण भएको थारू सङ्ग्रहालय अव्यवस्थित बन्दै गइरहेको छ । थारू समुदायको पहिचान र संस्कृति झल्काउने वस्तु सङ्ग्रहित गरी संरक्षण, संवर्धन गर्ने उद्देश्यले २०७८ मा धनगढी उपमहानगरपालिकाको कार्यालयले सङ्ग्रहालय निर्माण गरेको थियो ।
अढाई करोड रुपियाँ लगानीमा निर्माण भएको सङ्ग्रहालय सञ्चालनमा अन्योल रहेको पटेलावासी शिवराज चौधरीले बताउनुुभयो । उहाँले सङ्ग्रहालय सञ्चालनको मोडालिटी नहुँदा सङ्ग्रहालय अस्तव्यस्त बनेको उल्लेख गर्नुभयो ।
कतिपय स्थानीयले आआफ्नो घरबाट ल्याएर राखेको सामान फिर्ता लगेको चौधरीले बताउनुभयो । सङ्ग्रहालय सञ्चालनको अन्योल देखिएपछि सामान टुटफुट हुने तथा चोरी हुने डरले उनीहले आआफ्नो सामान फिर्ता लगेको उहाँले बताउनुभयो । सङ्ग्रहालयमा थारू समुदायका महिला/पुरुषले लगाउने परम्परागत पहिरनलगायत विभिन्न सामग्री राखिएको थियो । धनगढी उपमहानगरपालिकाको कार्यालयले र पटेलावासीले सङ्कलन गरेर त्यस्ता सामग्री राखेका थिए । सङ्ग्रहालय रेखदेख गर्नका लागि वडा कार्यालयले एक जना कर्मचारी राखेको छ ।
स्थानीय सरकारले सङ्ग्रहालय निर्माण गर्नु राम्रो भए पनि राम्रोसँग सञ्चालन हुन नसक्नु दुःखद पक्ष रहेको स्थानीय निलु चौधरीको ठम्याइ छ । उहाँले सङ्ग्रहालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने औँल्याउनुभयो । थारू सांस्कृतिक सङ्ग्रहालय सञ्चालन व्यवस्थापनमा पालिकाले चासो नदेखाएको र स्थानीयले पनि सहयोग नगरेको वडाध्यक्ष मोती रानाथारूको जिकिर छ ।
उहाँले दुई आर्थिक वर्ष धनगढी उपमहानगरपालिकाले बजेट विनियोजन गरे पनि कार्यान्वयन नगरेको गुनासो गर्नुभयो । थारू समुदायको संस्कृति संरक्षण, प्रवर्धनका लागि सङ्ग्रहालय बने पनि सम्बन्धित समुदायले नै चासो नदिँदा मन दुःखेको उहाँको भनाइ छ ।
Facebook Comment