थारू समुदायको प्रथाजनित परम्परा संरक्षणसम्बन्धी विधेयक सर्वसम्मत पारित
लुम्बिनी प्रदेश सभाले थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। थारू समुदायका मौलिक परम्परा, संस्कृति तथा सामाजिक अभ्यासको संरक्षण र प्रवर्द्धनका लागि कानुनी आधार तयार गर्ने उद्देश्यले उक्त विधेयक ल्याइएको हो।
प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत बुधबार राति बसेको १८औँ बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका हुन्।
विधेयकले थारू समुदायमा परम्परागत रूपमा प्रचलित कविला गण संरचना, सङ्गठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्सालगायतका मौलिक परम्पराको पहिचान, अभिलेखीकरण, संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणका लागि आवश्यक कानुनी व्यवस्था गरेको छ।
पारित विधेयक अब ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन सम्बन्धी ऐन, २०८३’ का रूपमा लागू हुनेछ। ऐन प्रदेशभित्र थारू समुदायको बसोबास रहेका क्षेत्रमा कार्यान्वयन हुने व्यवस्था गरिएको छ।
प्रदेश सरकारले यो ऐनमार्फत थारू समुदायको मौलिक सांस्कृतिक सम्पदा, परम्परागत ज्ञान, सामाजिक संरचना र सांस्कृतिक अभ्यासको संरक्षण तथा प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ। ऐनले परम्परागत संस्थाहरूको संरक्षणसँगै भावी पुस्तामा समुदायको मौलिक पहिचान हस्तान्तरण गर्न पनि कानुनी आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
Facebook Comment