क्यानडा पठाइदिन्छु भन्दै थारू युवा-युवतीहरूसँग साढे दुई करोड ठगी गर्ने लहानु चौधरी पक्राउ
पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी वैदेशिक रोजगार ठगी आरोपमा पक्राउ परेका छन् । उनले क्यानडा पठाइदिन्छु भनेर २६ जनाबाट दुई करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएपछि चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि चौधरी प्रहरीको फरार सूचीमा थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चौधरीलाई चन्द्रागिरि नगरपालिका–५ बाट नियन्त्रणमा लिएको हो । कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थायी घर भएका चौधरीले पीडितहरूलाई क्यानडा पठाइदिन्छु भन्दै जनही चारदेखि १७ लाख रुपैयाँसम्म उठाएको प्रहरीले जनाएको छ ।
अनुसन्धान कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काका अनुसार सोझासाझा चौधरीहरूबाटै उनले पैसा उठाएका थिए ।
यसअघि पनि पीडितहरूले चौधरीलाई प्रहरीमा उजुरी हालिदिन्छु भनेपछि उनले चेक दिएर थामथुम पार्दै आएका थिए । तर, चेक बाउन्स भएपछि पीडितहरूले विभागमा उजुरी दिएका थिए ।
पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध खरो टिप्पणी गर्दै आएका चौधरी विभागले खोजी गरेको थाहा पाएपछि लुकीछिपी बस्दै आएका थिए ।
‘सोझासाझा युवायुवतीलाई क्यानडामा रोजगारीका लागि पठाइदिन्छु भन्दै पटकपटक गरेर दुई करोड ५० लाख रुपैयाँ लिएर फरार चौधरीलाई चन्द्रागिरिबाट नियन्त्रणमा लिइएको हो,’ एसएसपी खड्काले लोकान्तरसँग भने, ‘अब हामी विभागमै बुझाइदिन्छौं ।’
चौधरीले भने प्रहरीसँग आफ्नो कारोबार बिग्रेकाले पीडितहरूलाई पैसा फिर्ता गर्न नसकेको बयान दिएका छन् । ‘एउटा म्यानपावरमार्फत उनीहरूलाई क्यानडा पठाउने योजनाअनुसार मैले पैसा उठाएको हो, पछि कारोबार बिग्रियो, म्यानपावर पनि बन्द भयो,’ चौधरीको प्रारम्भिक बयान उद्धृत गर्दै अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘बाचाअनुसार बाहिर पठाउन नसकिएकै हो, पैसा फिर्ता गर्छु ।’
Facebook Comment