फुट्की खोज्न जंगल पसेकी थारू महिलाहरूको भोगेको त्यो रात
अविनाश चौधरी/धनगढी
भयानक सुनसान जङ्गलको त्यो कालो रात अनि पलपल वन्यजन्तुको जोखिमबिच सालको रुखमुनि बिताएको रात। बागफाँटाकी ४६ वर्षीय सविता चौधरीसहित अन्य दौँतरीले सायद जीवनमा त्यो रात कहिल्यै बिर्सनुहुने छैन।
जीवन नै दाउमा लगाएर जङ्गली च्याउ (फुट्की/पटके च्याउ) खोज्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पसेका उनीहरू करिब २४ घण्टापछि सकुशल फर्कन सके। यद्यपि कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटा दशरथ चन्द टोलको यो घटनाले सम्बन्धितका परिवार, आफन्तजन, निकुञ्ज प्रशासन, प्रहरी प्रशासन सबैलाई रातभर तनावमय बनाएको थियो। जङ्गली च्याउ खोज्न अनधिकृत रूपमा निकुञ्जको मुख्य क्षेत्र (कोर एरिया) तर्फ गएर बेपत्ता भएका १४ जना सकुशल फर्केपछि मात्रै सबैले चैनको सास फेर्न सके।
सविताका श्रीमान् बाबुरामले भन्नुभयो, “गाउँवासी, प्रहरी, सेना सबैबाट रातभर जङ्गलमा खोजी भयो। साढे ११ बजेतिर मैले नै उनीहरूलाई घरतर्फ आइरहेको देखेँ। बल्ल राहत महसुस भयो। खुसीको सीमा नै रहेन।”
शनिबार बिहान साढे ११ बजेतिर टोलका १४ जना महिला फुट्की खोज्नका लागि निकुञ्ज पसेका थिए। त्यसमध्ये नौ जना (सुकनीदेवी चौधरी, ठगिया, सुनिता, लक्ष्मी, सविता, रमा, रीता, मनिला, सौनी चौधरी) एकैघरका थिए भने पाँच जना गैरथारू समुदाय (सुमित्रा सुनार, शान्ति, प्रतीक्षा, शिवानी सुनार, विमला आग्री) का थिए।
निकुञ्जको मुख्य क्षेत्र बाबातालतर्फ फुट्की खोज्दै जाँदा घर फर्किने दिशा बिराएपछि उनीहरू जङ्गलभित्र रुमलिँदारुमलिँदै रात प¥यो। सविताले भन्नुभयो, “डेढ बजेतिर नै घर फर्कन खोजेका थियौँ तर सुनार दिदीबहिनीले अझ भित्र जाऊँ भन्ने कुरा गरे। फुट्की नपाएपछि हिँड्दै अझ भित्र गयौँ। त्यसपछि घरतर्फको बाटो नै मेसो भएन, रात पर्यो।”
सविताका अनुसार उनीहरूमध्ये कसैसँग पनि मोबाइल थिएन। एक जनासँग भएको मोबाइलमा पनि सिम थिएन। त्यो समय हेर्न र गीत सुन्नका लागि लगिएको थियो। त्यही मोबाइल नै उनीहरूको रातभरको सहारा बन्यो। राति ८ बजेसम्म घर फर्कने बाटो खोजे पनि नभेटिएपछि सबैले सल्लाह गरेर एउटा रुखको फेदमा रात बिताए।
सविता भन्नुहुन्छ, “रुखको जरातर्फ पिठिउँ फर्काएर चारैतिर गोलघेरा बनाएर बस्यौँ। वन्यजन्तुले हाम्रो आवाज सुन्ला भन्ने डरले कानेखुसी मात्र ग¥यौँ, हल्ला गरेनौँ। रातभरि लामखुट्टे, किराले टोके। सकुशल बिहान देख्न पाउने प्रार्थना गरिरह्यौँ।”
भगवान् दाहिने भएकाले आफूहरू सकुशल फर्केको महिलाहरूको भनाइ छ। जङ्गलमा फुट्की खोज्न जीवनमै पहिलो पटक गएकी सुकनीदेवी अब जीवनमा भुलेर पनि जङ्गल नपस्ने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “हिंस्रक वन्यजन्तु रहेको निकुञ्ज क्षेत्रमा बिताएको डरलाग्दो रात सम्झँदा आङ नै सिरिङ्ङ हुन्छ। झमझम पानी पर्दा रुखमुनि रात बिताउनु प¥यो। भगवान्को कृपाले हामी बाँचेर आउन सक्यौँ।”
साथमा भएको एउटा मोबाइलमा रातभर समय हेर्दाहेर्दै बिहान ४ बजेतिर ब्याट्री सकिएर ‘स्विचअफ’ भइदियो। बिहान थोरै उज्यालो भएपछि उनीहरू घरतर्फ जाने बाटोको खोजीमा पुनः सक्रिय भएका थिए। त्यस क्रममा ताल जस्तो क्षेत्रमा तीन/चार पटक जङ्गली हात्ती फेला पारेको सुकनीदेवीले सम्झनुभयो। उहाँ भन्नुहुन्छ, “झिसमिसे उज्यालोमा हिँड्दै गर्दा एक ठाउँमा चार वटा जङ्गली हात्ती देखा परे। ती हात्तीलाई पनि छल्दै बाँचेर घर आयौँ।”
जङ्गलमा हिँडिरहँदा सिङपुर–मजगाउँ रोडमा गाडी चलिरहेको आवाज सुनेर बल्ल घरतर्फको दिशा यकिन गर्न सकेको महिलाले बताएका छन्। बाटोमा गुडेको गाडी पनि उनीहरूलाई खोज्न गुडेको प्रशासनकै गाडी थियो। सम्पर्कविहीन भएका महिला समूह आएपछि बल्ल आफूहरूले चैनको सास फेरेको सुकनीका श्रीमान् जगतबहादुर चौधरीले बताउनुभयो।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार निकुञ्जभित्र अनधिकृत रूपमा प्रवेश गर्नु अपराध हो तर जति सम्झाइबुझाइ गर्ने गरे पनि लुकीछिपी स्थानीय च्याउ, फुट्की, निउरो टिप्न निकुञ्ज क्षेत्रमा प्रवेश गर्दै आएका छन्। त्यसरी अनधिकृत रूपमा पसेर उनीहरू अपराध गर्ने मात्रै हैन, आफ्नै ज्यान पनि जोखिममा पार्ने गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताउनुभयो। उहाँका अनुसार महिला गएको क्षेत्र जङ्गली हात्तीको झुन्ड ओहोरदोहोर गरिरहने क्षेत्र हो। जहाँ, पाइलैपिच्छे जोखिम हुन सक्छ। शुक्लाफाँटामा ४३ बाघ र ५० भन्दा बढी जङ्गली हात्ती रहेका छन्।
वाग्ले भन्नुहुन्छ, “१४ महिला सम्पर्कविहीन रहेको खबर आएपछि हामी रातभरि खोजीमा लागेका थियौँ। उनीहरूलाई बाघभन्दा पनि जङ्गली हात्तीको झुन्डले आक्रमण गर्ला भन्ने चिन्ता थियो किनभने मान्छे समूहमा भए पनि हात्तीले सबैलाई मार्न सक्छ। जम्काभेट नभएमा समूहमा रहेका मान्छेमाथि बाघले आक्रमण गर्दैन।” सोही रात तीन जना अर्को समूहका महिलाले रुखमा चढेर रात बिताएका थिए। सोमबार बिहान फोन गरेर गुहार मागेपछि सुरक्षाकर्मीले उनीहरूको उद्धार गरेको थियो।
-गोरखापत्रबाट साभार
Facebook Comment