बाढीपीडितका लागि थाकस देउखुरीले उठायो करिब ४० टन चामल
सन्तोष दहित/दाङ
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि थारू कल्याणकारिणी सभा दाङ–देउखुरी क्षेत्र नं. १ ले सञ्चालन गरेको ‘एक घर, एक किलो चामल दान अभियान’बाट करिब ४० हजार किलो चामलसहित ठुलो परिमाणमा खाद्यान्न संकलन भएको छ।
बाढीपीडितका लागि राहत जुटाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा ३९ हजार ३८३ किलो ९७० ग्राम चामल संकलन भएको सभाका क्षेत्रीय सचिव यमबहादुर चौधरीले जानकारी दिनुभयो।
उहाँका अनुसार चामलसँगै एक हजार ३२४ किलो ५८० ग्राम दाल, दुई हजार ६४७ किलो नुन, १९६ दशमलव ५ लिटर तेल, २९८ किलो ५०० ग्राम लसुन, २०२ किलो ८२० ग्राम बेसार, ८३९ किलो १०० ग्राम आलु, २२ किलो ५५० ग्राम खुर्सानी, ३५ किलो ५५० ग्राम गहुँ, ४० किलो पिठो र ३७ किलो मकैसमेत संकलन भएको छ।
त्यस्तै, चार पेटी चाउचाउ र चार पोका सोयाबिन पनि संकलन गरिएको छ। अभियानमा खाद्यान्नसँगै ८४ हजार ४२५ रुपियाँ नगद सहयोग प्राप्त भएको थियो। उक्त रकममध्ये ६८ हजार ४५० रुपियाँ राहत कोषमा जम्मा गरिएको सचिव चौधरीले बताउनुभयो।
बाढीपीडितका लागि राहत सामग्री जुटाउन सभाले देउखुरीका विभिन्न स्थानमा संकलन केन्द्र सञ्चालन गरेको थियो। स्थानीय बासिन्दाले आफ्नो क्षमताअनुसार चामल, दाल, नुन, तेललगायत खाद्यान्न तथा नगद सहयोग गरेका थिए।
राप्ती, गढवा र राजपुर गाउँपालिका तथा लमही नगरपालिकाका विभिन्न थारू गाउँबाट ‘एक घर, एक किलो चामल’ भन्ने आह्वानसहित सुरु गरिएको अभियानमा अपेक्षाभन्दा ठुलो परिमाणमा खाद्यान्न संकलन भएको सभाले जनाएको छ। बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न उपलब्ध गराउन समुदायस्तरबाट सहयोग जुटाइएको हो।
Facebook Comment