आशाराम थारु हत्या प्रकरणमा आरोपीले प्रहरी समक्ष दिए दर्दनाक बयान
नारायण खड्का/सेतोपाटी साभार
बर्दियाको ठाकुरबाबा नगरपालिका-९ बेतहनीका २७ वर्षीय आशाराम थारू एक ग्यारेजमा मिस्त्रीका रूपमा काम गर्थे। साउन १४ गते बेलुकी आशारामलाई भेट्न डोटीको शिखर नगरपालिका-४ बिनाडी स्थायी घर भई बर्दियाको ठाकुरबाबा-७ कालीगौडी बस्ने २० वर्षीय गोविन्द जैसी र स्थानीय अन्दाजी १९ वर्षीय अर्का युवकसँगै ग्यारेजमै गएका थिए।
आशाराम, गोविन्द र युवक मिलेर बेलुकीदेखि नै ग्यारेजमै मदिरा पिए। मध्यरातिसम्म मदिरा सेवन गर्दा मातिसकेका थिए। तैपनि आशारामले आफैले मोटरसाइकल कुदाउँदै राति दुवै साथीलाई आफ्नो घरमा पुर्याए।
तीनै जनाले आशारामको घरमा खाना खाए। आपसी सल्लाह गरी अर्का साथीलाई मडेला भन्ने ठाउँमा पुर्याए। तीनै जना एउटै मोटरसाइकल चढेर गएका हुन्छन्।
उनीहरूले गोविन्दको लु.प्र.००१-०१२ प ०८२५ नम्बरको मोटरसाइकल कुदाइरहेका थिए। युवकलाई छाडेर मडेलाबाट फर्किने क्रममा साउन १५ गते भइसकेको थियो। बिहानको करिब २ बजिसकेको थियो। ठाकुरबाबा–९ बजार क्षेत्रबाट उनीहरू हात्तीसारतर्फ जाँदै थिए। आशारामले चलाएको बाइकमा गोविन्द पछाडि सवार थिए।
बीच बाटोमा उनीहरू शौचका लागि रोकिए। त्यसपछि मोटरसाइकल धनी गोविन्दले आफै कुदाउने जिद्दी गरे। आशारामले साँचो दिए। मातेका गोविन्दले हाँकेको मोटरसाइकल केहीबेरपछि अनियन्त्रित भई दुर्घटनामा पर्यो। मोटरसाइकलसहित दुवै नहर (नाला) मा खसे।
गोविन्दको अनुहार लगायतमा सामान्य चोट लाग्यो। आशारामलाई बढी चोटपटक लाग्यो। पानीको नालामा खसेका घाइते आशारामको अवस्था नियालेपछि गोविन्दले मनमनै सोचे, अब यसको उपचार गर्न मेरो धेरै पैसा खर्च हुने भयो।
गम्भीर घाइते भई सहयोगको याचनासहित छटपटाइरहेका आशारामप्रति गोविन्दको मनमा दया, माया र करूणा जागेन। गोविन्द दुर्घटनास्थल नजिकै एउटा निर्माणाधीन घरमा पुगे। त्यहाँ उनले काठ फेला पारे। त्यो बोकेर घटनास्थल फर्किए।
छटपटाइरहेका आशारामको छातीमाथि पटक पटक सोही काठले प्रहार गरे। त्यसपछि मोटरसाइकलको साँचोले छटपटाइरहेका आशारामको अनुहारको भागमा पटक पटक प्रहार गरी अचेत तुल्याए।
त्यसपछि आशारामले घाँटीमा लगाएको डोरीको माला निकाले र त्यसैले करिब २ देखि ३ मिनेटसम्म घाँटी कसेर मृत्यु भएको निश्चय गरे। प्रहरी हिरासतमा रहेका गोविन्दले प्रहरीसँग सोही साबिती बयान गरेको जिल्लाका प्रवक्ता डिएसपी रमेश बोहराले बताए।
‘छटपटाइरहेका घाइतेलाई तत्काल उपचारका लागि अस्पताल लैजानुको साटो उपचारमा धेरै रकम खर्च हुने गलत निष्कर्ष निकालेर गोविन्दले क्रूरतापूर्वक हत्या गरेको हुँ भन्ने बयान गरेका छन्,’ डिएसपी बोहराले भने, ‘अत्यधिक मदिरा सेवनले गर्दा मानिस कतिसम्म गलत सोच वा निष्कर्षमा पुग्न सक्छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो।’
हत्यापछि आफू जोगिन गोविन्दले आशारामको शव आफै बोकेर लगेर नजिकै रहेको (ठाकुरबाबाबाट कुशल पटुवातर्फ पानी जाने) सिँचाइ नालामा फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
आशारामको हत्याको वास्तविक कारण लुकाउन र हत्या नभई दुर्घटनाका कारण मृत्यु भएको हो भनेर झूटा कुरा देखाउने मनसायले गोविन्दले शव हत्यापछि आफैंले नालामा लगेर फालेको स्वीकार गरिसकेको डिएसपी बोहराले बताए।
आशारामको हत्या घटना र मोटरसाइकल दुर्घटनासँग कुनै तालमेल छ भन्ने सम्मको सुइँको सुरूमा प्रहरीले पाउन सकेको थिएन। साउन १५ गते बिहान दुर्घटनाग्रस्त अवस्थामा मोटरसाइकल नालामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
नजिकको प्रहरीले बेवारिसे अवस्थामा दुर्घटनाग्रस्त मोटरसाइकल नालामा फेला पारेपछि अनुसन्धान सुरू गरेको थियो। अनुसन्धानका क्रममा बेवारिसे अवस्थामा फेला परेको मोटरसाइकल गोविन्दको भएको खुलेपछि बल्ल प्रहरीले उनको खोजी थालेको थियो। दुर्घटनास्थलमा आशारामको एउटा चप्पल मात्रै फेला परेको थियो।
गोविन्दले दुर्घटनापछि आफू बेहोस बनेको हुँदा पछाडि सवार आशाराम कहाँ गए भन्ने कुरा आफूलाई जानकारी नभएको भन्ने बयान सुरूमा गरेका थिए। स्थानीय र प्रहरीले आसपासका जंगलमा पनि आशारामको खोजी गरेका थिए। त्यही क्रममा साउन १७ गते दिउँसो घटनास्थलभन्दा झन्डै १०० मिटर दक्षिणमा नालामा शव फेला परेको थियो।
त्यसपछि भने गोविन्द पक्राउ परेका थिए। प्रहरीले उनका अर्का साथीलाई पनि घटना अनुसन्धान र सोधपुछका लागि नियन्त्रणमा लिएको छ। डिएसपी बोहराका अनुसार आशारामको हत्यापछि गोविन्द त्यो दिन एक साथीको घरमा गई सुतेका थिए। उनले घटनाबारे कसैलाई नबताएको बयान गरेका छन्।
हत्या आरोपी गोविन्द बर्दियाबाट प्लस-टूसम्मको पढाइ पूरा गरी विदेश जाने तयारीमा थिए। हत्या गरिएका आशाराम, गोविन्द र अर्का युवक मदिरा सेवन गर्ने क्रममा बनेका साथी हुन्।
गोविन्द विरूद्ध जिल्ला अदालतले कर्तव्य ज्यान शीर्षकमा मुद्दा चलाउने गरी थप अनुसन्धान गर्न ७ दिनको म्याद दिएको डिएसपी बोहराले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comment