गरिमा चौधरीको खोजीमा प्रहरीले चासो नदेखाएको सांसद अन्सारी र स्थानीयको आरोप

तीन वर्षीया बालिका हत्याको विरोधमा बाराको सिमरामा ७ घण्टादेखि सडक अवरुद्ध भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ दशधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन्।

इलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदापनी खोजीमा चासो नदिँदा बालिकामाथि सो घटना भएको आरोप स्थानीयको छ। स्थानीयले सिमरा प्रहरीको नेतृत्व परिवर्तन गर्नुपर्ने माग अघि सारेका छन्।

प्रहरीले बालिका हराएको ३ दिनसम्म खोजी गर्न नसकेको, परिवारले किटानी जाहेरी दिएको व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याएको आरोप स्थानीयको छ। स्थानीयले शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए। मङ्गलबार साँझ शव भेटिएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ। परिवारले शव भेटिनु अघिनै सोही २ जनाका विरुद्ध किटानी जाहेरी दिएका थिए।

स्थानीयले सडक अवरुद्ध गरेपछि वीरगंज-पथलैया सडक खण्डमा सयौं गाडी तथा यात्रु अलपत्र परेका छन्। सडक खुलाउने विषयमा बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, एसपी नरेन्द्र कुँवर लगायतका सुरक्षा अधिकारी घटनास्थलमा पुगेका छन्। तर स्थानीयले प्रहरीले दोषी प्रहरीलाई कारबाही नगरेसम्म आन्दोलन नछाड्ने बताएका छन् ।

त्यस्तै रास्वपाका सांसद रहबर अन्सारीले पनि गरिमा चौधरीको खोजीमा प्रहरीले चासो नदेखाएको आरोप लगाएका छन्। संसदको आकस्मिक समयमा बोल्दै उनले प्रहरीमाथि गम्भीर आरोप लगाएका हुन्। उनले २४ घन्टासम्म पनि प्रहरीले बालिका खोजीमा तत्परता नदेखाएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *