प्रधानमन्त्री र थारू सांसदहरूबीच भेटवार्ता, लाल आयोग प्रतिवेदनमाथि सुझाव पेस गर्न सुरेन्द्र चौधरीलाई जिम्मेवारी
टीकापुर घटना सम्बन्धमा बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका थारू सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।
भदौ ७ गतेभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित सांसद सुरेन्द्र चौधरीको नेतृत्वमा ६ जना थारू सांसदहरू बिहीबार प्रधानमन्त्री शाहलाई भेटेका हुन्।
टीकापुर घटनापछि थारू समुदायका व्यक्तिहरूले जेल-नेल भोग्नुपरेको र अहिले पनि धेरै थारूहरू फरार बन्नुपरेको भन्दै थारू सांसदहरूले प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए। जवाफमा प्रधानमन्त्री शाहले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्नेमा आफू सकारात्मक रहेको बताएका थिए।
प्रधानमन्त्री शाहले भदौ ७ गतेभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सुझावसहितको प्रतिवेदन पेश गर्न सांसद सुरेन्द्र चौधरीलाई जिम्मेवारी दिएका छन्।
सांसद सुरेन्द्र चौधरीले छिट्टै प्रधानमन्त्री शाहलाई सुझावसहितको प्रतिवेदन बुझाउने जानकारी दिए। ‘मेरो नेतृत्वको टोलीले लाल आयोगको प्रतिवेदन सार्वजिनक गराउनुपर्ने मागसहित प्रधानमन्त्रीजीलाई भेट्यौं। उहाँले त्यस सम्बन्धमा सुझाव पेश गर्न मलाई जिम्मेवारी दिनुभएको छ। छिट्टै सुझावसहितको प्रतिवेदन बुझाउँछौं। यस विषयमा उहाँ सकारात्मक हुनुहुन्छ,’ उनले भने।
त्यस्तै भेटवार्तामा थारू समुदायका अन्य सवालमा पनि छलफल भएको सांसद चौधरीले बताए। भेटमा सुरेन्द्र चौधरीसहित, लक्ष्मण थारू, ठाकुर सिंह थारू, पुष्पा चौधरी, करिश्मा कठरिया र अमरकान्त चौधरी सहभागी थिए।
Facebook Comment