लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। विगतको सरकारले गरेको कमजोरीलाई ढाकछोप नगरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषय हिजो फेरि उठेको उल्लेख गर्दै थापाले २०७४ सालदेखि लगभग हरेक वर्ष प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको बताए। राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि सरकारमा पुगेपछि कार्यान्वयन गर्न नसकेको उनले स्वीकार गरे।
‘अब त एक दशक बित्न लागिसक्यो,’ थापाले भनेका छन्। २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोग (लाल आयोग) ले बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य पूर्ण रूपमा बाहिर आउन नसकेको र पीडितहरू न्याय पाउनबाट वञ्चित भएको उनले बताएका छन्।
विगतका सरकारबाट पनि प्रतिवेदन सार्वजनिक गर्ने काम हुन नसकेको उल्लेख गर्दै थापाले विगतको कमजोरीलाई अहिले पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बनाउन नहुने बताए। यसपटक यो विषय प्रतिबद्धतामा मात्रै सीमित हुन नहुने उनको भनाइ छ।
थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन्। ‘सत्य जान्ने अधिकार नागरिकको हो, न्याय पाउने अधिकार पीडितको हो,’ थापाले भनेका छन्।
Facebook Comment