बयानको भिडियो लिक गर्ने प्रहरी हवल्दार पक्राउ
तीन वर्षीया गरिमा चौधरीको बलात्कार तथा हत्या अभियोगमा पक्राउ परेका १६ वर्षीय बालकको ओसीएमसी कक्षाभित्रको गोप्य भिडियो लिक गर्ने एक प्रहरी हवल्दार पक्राउ परेका छन् ।
कलैया प्रादेशिक अस्पतालस्थित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)मा चिकित्सकले बालकसँग परामर्श र सोधपुछ गरिरहेको भिडियो आइतबार साँझदेखि भाइरल भएको थियो। गोपनीयता र अनुसन्धानको गम्भीरतालाई ध्यान नदिई भिडियो सार्वजनिक भएपछि छानबिन थालेको प्रहरीले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका प्रहरी हवल्दार विकमाथि फौजदारी कसुरअन्तर्गत मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाइने बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिएका छन्। बालिका हत्या प्रकरणको घटनामा अनुसन्धान गरिरहेको बारा प्रशासन भिडियो सार्वजनिक भएपछि दबाबमा परेको थियो।
उक्त भिडियोमा हातमा हतकडी लगाइएका बालकले घटनामा आफूबाहेक अर्का एक साथीको पनि संलग्नता रहेको दाबी गरेका छन्। यसअघि उनले एक्लै घटना गराएको बयान दिएका थिए।
Facebook Comment