गरिमा चौधरी प्रकरणमा दुई बालकसहित ९ जना पक्राउ

बाराको जितपुरसिमरा उपमहानगरपालिका-१, भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले नौजनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ परेकाहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा १४ वर्षीय र १६ वर्षीय दुई नाबालकसहित जितपुरसिमरा-१ का २४ वर्षीय प्रोग्रेस चौधरी, ५० वर्षीय इन्जित चौधरी, २४ वर्षीया पुष्पा चौधरी, २६ वर्षीया ममता चौधरी, ४५ वर्षीय शेख हुस्सुदिन आलम, ४० वर्षीय टेकबहादुर थापामगर, जितपुरसिमरा-२ का ३३ वर्षीय नवीन विक रहेका छन्।

घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये दुईजनालाई २ भदौ, ६ जनालाई ६ भदौ र एकजनालाई ७ भदौमा नियन्त्रणमा लिइएको बारा प्रहरीका प्रहरी सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले भने, ‘पक्राउ परेका सबैलाई बारा जिल्ला अदालतबाट पहिलोपटक चार दिन र त्यसपछि पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।’

प्रहरीका अनुसार गरिमा भक्तिनगरस्थित एक खाली घरमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान, उनीहरूको भूमिका तथा घटनाको सम्पूर्ण पाटोबारे अनुसन्धान अघि बढाएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *