३६ घन्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो करिब दुई अर्ब
बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब दुई अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार ३६ घण्टामा १.९ अर्बभन्दा बढी रकम संकलन भएको हो।
अर्थ मन्त्रालयका अनुसार शुक्रबारमात्रै ३८ करोड ५५ लाख सहयोग जम्मा भएको थियो। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा विभिन्न २७ संस्था एवं व्यक्तिले उक्त रकम सहयोग गरेका थिए। कोषमा सूर्य नेपाल प्रालिले १५ करोड, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई करोड ५१ लाख, हिमालयन बुलियन कम्पनी लिमिटेडले एक करोड एक लाख, एग्रो थाईफुड्स प्राइभेट लिमिटेडले एक करोड, एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक करोड एक लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रतिनिधिले एक करोड रुपैयाँ कोषका लागि हस्तान्तरण गरे।
उद्योगी विजयकुमार शाहले एक करोड, पद्मज्योति समूहको स्याकार ट्रेडिङले एक करोड, राजी राणाले व्यक्तिगत रूपमा एक करोड ९ लाख ८० हजार रुपैयाँ कोषमा योगदान गरे। त्यस्तै डब्लूडब्लूएफ नेपालले एक करोड, मोरङ अटो वर्क्सले एक करोड ११ लाख र जावलाखेल डिस्टिलरीले एक करोड, हिमालयन डिस्टिलरीले एक करोड, , अल्फा अटोमोटिभ प्रालिले एक करोड र सोलु हाइड्रोपावरका प्रतिनिधिले एक करोड रुपैयाँ राहत कोषका लागि अर्थमन्त्रीमार्फत हस्तान्तरण गरे।
नेपाल सिमेन्ट उत्पादक संघ ५१ लाख, मुक्तिनाथ विकास बैंक ५० लाख, लुम्बिनी विकास बैंकको तर्फबाट प्रतिनिधिहरुले २५ लाख रुपैयाँ सहयोग गर्नुभयो । सीएएस ट्रेडिङ हाउसले एक लाख ११ हजार, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख, सिल्भर लाइनिङ प्रालिका अधिकारीले एक लाख ११ हजार रुपैयाँ कोषका लागि योगदान गरे।
एबाकस इन्साइट्स प्रालिले १५ लाख र अन्य तीन संस्थाले २६ लाख ६२ हजार रुपैयाँ कोषमा योगदान गर्नुभएको छ। शुक्रबार अर्थ मन्त्रालयमार्फत कुल ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको हो।
यसैबीच बाढी तथा विपद्बाट प्रभावित १५ वटा स्थानीय तहलाई तत्काल राहत, उद्धार तथा आवश्यक व्यवस्थापनका लागि कूल ६ करोड ७५ लाख रकम उपलब्ध गराइएको प्रधानमन्त्री शाहले जनाएका छन्।
Facebook Comment