कैलाली समितिपुरका मात्रै २१ जना अझै सम्पर्कविहीन

‘घरखर्चका लागि एक-दुई दिनभित्र ५० हजार रुपैयाँ पठाइदिन्छु, चिन्ता नमान्नु,’ गत बुधबार बिहान साढे ६ बजे टीकापुर नगरपालिका-१ समितिपुरका २६ वर्षीय दीपक चौधरीले बुवा विक्रमलाई फोनमा भनेका थिए। छोराले खर्च पठाइदिने ढाडस दिएको केही घण्टामै भोटेकोशीमा भीषण बाढी आएको सुनेपछि विक्रमले फेरि दीपकको फोनमा सम्पर्क गर्न खोजे। तर दीपकको फोनमा सम्पर्क हुन सकेन ।

डेढ महिनाअघिमात्रै रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा मजदुरी गर्न गएका दीपक त्यसयता बेखबर छन् । समितिपुरकै तुलाराम चौधरीको सम्पर्कबाट कैलालीका विभिन्न गाउँका ३२ जना मजदुरीका लागि रसुवा पुगेका थिए। तीमध्ये टीकापुर–१ का मात्रै २४ जना थिए। उनीहरू अपर त्रिशूली–१ को २१६ ड्यामसाइडमा सुरुङ निर्माणको काम गर्थे। ‘त्यहाँ हेल्परले ‍घण्टाको १ सय २२ र मिस्त्रीले १ सय ४४ रुपैयाँ ज्याला पाउँथे,’ तुलारामले भने, ‘बिहान ८ बजे पीटी गरेर सुरुङभित्र काममा छिर्ने दैनिक कार्यतालिका थियो । बुधबारको बिहान पनि त्यसैगरी हाम्रा कामदार सुरुङभित्र पसेका थिए।’

तर बुधबार नियमित काममा सुरुङ छिरेका टीकापुरका २४ जनामध्ये समितिपुरका तुलाराम, दिलबहादुर चौधरी र रमेशकुमार चौधरी सम्पर्कमा आएका छन्। बाँकी २१ जना मंगलबार साँझसम्म सम्पर्कविहीन छन्।

तुलाराम पनि कैलालीका अन्य कामदारसँगै अपर त्रिशूली–१ को २१६ ड्यामसाइड सुरुङमा काम गर्थे। बाढी गएको बिहान उनी सुरुङ निर्माणस्थलभन्दा करिब १० मिनेट टाढाको क्यान्टिनमा थिए। ‘बाढी आउने बेला मसहित ६ जना १० मिनेट टाढाको क्यान्टिनमा थियौं। माथिबाट एक्कासि ठूलो बाढी आयो,’ उनले भने, ‘हामी चट्टानैचट्टान भएको पहाडको घाँस समाउँदै दौड्यौं। ६ जना त उम्कियौं, तर सुरुङभित्रका अरू साथीहरू बाहिर निस्कन पाएनन्।’ भाग्न सफल भएकामध्ये ३ जना समितिपुरका थिए ।

आफूहरू पहाडैपहाड साढे दुई घण्टा हिँडेर धुन्चेसम्म पुगेको उनले सुनाए । बाढीबाट ज्यान जोगाएका तुलाराम सकुशल फर्किए पनि उनको मन अझै त्यही सुरुङतिरै अड्किएको छ, जहाँ उनीसँगै काम गर्ने २१ जना साथीको अवस्था अज्ञात छ। ‘हामी ६ जना पहाडैपहाड हिँडेर धुन्चेसम्म पुग्न सफल भयौं। तर सुरुङभित्र काम गरिरहेका अरू साथीहरूको अवस्था जानकारी छैन,’ उनले भने।

टीकापुर–१ का वडाध्यक्ष मोहन लोहारका अनुसार समितिपुरका ७ जना, भगतपुर कमैया बस्तीका ६ जना, एकतापुरका ३ जना, शक्तिनगरका २ जना, विपदपुरका १ जना तथा टीकापुरका दुई ब्लकका १–१ जना अझै सम्पर्कविहीन छन्।

पोहोरसम्म भारतको देहरादुनमा ज्यामी काम गर्दै आएका दीपक पहिलोपटक आफ्नै देशमा मजदुरी गर्ने सोचले रसुवा पुगेका थिए। घरखर्च चलाउन र परिवारको आर्थिक भार कम गर्न उनी रसुवाको आयोजनामा काम गर्न गएका थिए। त्यहाँ गएको डेढ महिनामा घरमा फोन गरेर ‘एक–दुई दिनमा ५० हजार पठाउँछु’ भनेको केही घण्टामै उनी सम्पर्कविहीन भए।

छोरा र गाउँका अन्य कामदारको खोजीमा समितिपुरका भलमन्सा अखिल चौधरी र विक्रम चौधरी आइतबार काठमाडौं पुगेका छन्। उनीहरू सोमबार नुवाकोटसम्म पुगे पनि त्यसपछि अघि बढ्न सकेनन्। ‘काठमाडौंबाट सोमबार नुवाकोट पुगेर फर्कियौं। उद्धारकर्मीले सुरुङभित्र पस्न नसकिएको कुरा सुन्दा निराश भएर फर्कियौं,’ अखिलले भने, ‘बाटो छैन। नत्र रसुवासम्मै पुग्ने विचार थियो। अहिले काठमाडौंको पशुपतिमा बसेका छौं।’

भोटेकोशी बाढीपछि सुदूरपश्चिमबाट रोजगारीका लागि रसुवा पुगेका धेरै जना सम्पर्कविहीन हुँदा परिवारजन चिन्ता र अन्योलमा छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बाढीपछि सम्पर्कविहीन भएका प्रदेशका १७६ जनामध्ये आइतबारसम्म ३६ जना सम्पर्कमा आएका छन्।

प्रदेश प्रहरीका अनुसार कैलालीका ८४ जना सम्पर्कविहीन भएकामा २५ जना, कञ्चनपुरका ४३ मध्ये १० जना र डडेल्धुराका १० मध्ये एक जना सम्पर्कमा आएका छन्। अझै सम्पर्कविहीन रहेकामा कैलालीका ५९, कञ्चनपुरका ३३, डडेल्धुराका १६, बाजुराका १४, बैतडीका ८, दार्चुलाका ४ तथा बझाङ, अछाम र डोटीका दुई–दुई जना छन्। उनीहरूका आफन्त उद्धारको पर्खाइमा छन् ।

अर्जुन शाह/कान्तिपुरबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *