काठमाडौंमा यसवर्ष अष्टिम्की पर्व नमनाइने

काठमाडौंमा यसवर्ष आयोजना हुने भनिएको थारु राष्ट्रिय अष्टिम्की तिहार स्थगित गरिएको छ। रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै जनाको ज्यान गएको र केही अझै बेपत्ता रहेको अवस्थालाई मध्यनजर गर्दै अष्टिम्की तिहार स्थगित गर्ने निर्णय गरिएको हो।

अग्रासन थारु महिला समाज काठमाडौंको संयोजकत्व तथा विभिन्न संघसंस्थाको सहकार्यमा भदौ १९ गते आयोजना गर्ने तय भएको थारु राष्ट्रिय अष्टिम्की तिहार-२०८३ कार्यक्रम स्थगित गरिएको आयोजक मूल आयोजक समितिले जनाएको छ।

समितिका अनुसार प्राकृतिक विपत्तिबाट थारु समुदायका दाजुभाइ तथा दिदीबहिनीसमेत प्रभावित भई शोक र पीडामा रहेको वर्तमान संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो।

भदौ १७ गते बसेको मूल आयोजक समितिको बैठकले यस वर्षको थारु राष्ट्रिय अष्टिम्की तिहार-२०८३ कार्यक्रम स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ। आयोजक समितिले कार्यक्रमका लागि सहयोग गर्ने सम्पूर्ण आयोजक, सह–आयोजक, सहयोगी संस्था, शुभेच्छुक तथा थारु समुदायका महानुभावहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।

साथै, बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। बेपत्ता भएकाहरूको शीघ्र सकुशल उद्धारको कामनासमेत आयोजक समितिले गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *