बारा घटना : दुई नाबालकलाई बाल सुधार गृह पठाउने आदेश

जितपुरसिमराकी ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका २ नाबालकलाई मुद्दाको पुर्पक्षका लागि बारा जिल्ला अदालतले बुधबार बाल सुधार गृहमा पठाउने आदेश दिएको छ ।

उनीहरूमाथि शरीर बन्धक तथा अपहरण, बलात्कार र हत्या अभियोग लगाएर मुद्दा दर्ता गरिएको हो । अदालतका १ नम्बर इजलासका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासबाट थुनछेक आदेशको क्रममा मुद्दाको थप पुष्टयाइँ नहुन्जेलसम्म सुधार गृह पठाउने आदेश भएको अदालतका श्रेस्तेदार राजकुमार दाहालले बताए ।

साथै इजलासबाट प्रतिवादीबाट पीडितलाई तत्काल क्षतिपूर्ति दिलाउन सक्ने अवस्था नदेखिँदा अन्तरिम क्षतिपूर्ति सरकारी पीडित राहत कोषबाट पीडित परिवारलाई २ लाख दिनुपर्ने आदेशसमेत भएको छ ।

यही मुद्दाको आरोपमा पक्राउ परेका अन्य ७ जना बालिग (उमेर पुगेका) अभियुक्त भएकोले उनीहरूको हकमा पक्राउ परेको २५ औं दिनमा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गर्नेछ । उमेर पुगेका ७ जना आरोपीहरूको मुद्दाको हकमा केही दिनमै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस भई अभियोजन पेस हुने जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक विमल खतिवडाले बताए ।

बालबालिकाको मुद्दाको हकमा भने २१ दिनभित्र हिरासतमा राखेर अनुसन्धान गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरिसक्नुपर्ने कानुनी प्रावधानका कारण अहिलेका लागि नाबालकको हकमा मात्र प्रतिवेदन पेस भएर सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा अभियोजन दर्ता (मुद्दा दायर) गरिएकोले उक्त आदेश भएको प्रहरी निरीक्षक खतिवडाले बताए ।

मुद्दाको बहस सुन्न बालिकाका बुवाआमासमेत अदालत पुगेका थिए ।

गत साउन ३१ मा घरबाट हराएकी बालिकाको शव भदौ २ गते शव फेला परेको थियो । त्यसपछि बालिकाको न्यायको लागि बारा, रौतहट, पर्सा, काठमाडौंमा एक सातासम्म आन्दोलन चर्केको थियो । आन्दोलनकै क्रममा सरकार र बालिकाको बुवाआमासित तीन बुँदे सहमति गरेपछि मात्रै बालिकाको अन्त्येष्टि गरिएको थियो ।

लक्ष्मी साह/कान्तिपुरबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *