ज्यान जोगाएका रामप्रसाद थारू भन्छन्- जब म होसमा आएँ, कोही थिएनन्
भदौ १० गते बाढी आउँदा तपाईं कहाँ हुनुहुन्थ्यो ?
हाम्रो नाइट ड्युटी थियो । नाइट ड्युटी सकेर बिहान आएँ, नास्ता खाएर सुतेको थिएँ । अनि बाढी आइरहेको भन्ने जानकारी भयो । त्यसपछि म भाग्न लागेँ । हाम्रो कोठामा दुई जना थियौँ । अर्को एक जना साथी हाम्रो क्याम्पमै ड्युटीमा हुनुहुन्थ्यो । उहाँ आएर हामीलाई ‘बाढी आइरहेको छ, भागौँ’ भनेर जानकारी दिनुभयो । त्यसपछि हामी त्यहाँबाट भाग्न थाल्यौँ । भाग्दै यहाँ माथिको रोडसम्म आइसकेका थियौँ । म रोडभन्दा अलि माथिसम्म पुगिसकेको थिएँ । त्यहीँबाट मलाई बाढीले डुबायो र तलतिर कति तलसम्म लग्यो, थाहा भएन ।
तपाईं त्यहाँ केमा काम गर्नुहुन्थ्यो ?
म हाइड्रोपावरमा फर्माको काम गर्थेँ ।
कुन हाइड्रोपावरमा ?
पावर चाइनाको कम्पनीमा । मैलुङमा हो ।
बाढी आयो भनेर कसरी थाहा पाउनुभयो ?
हाम्रो कोठाको एक जना ड्युटीमा हुनुहुन्थ्यो । हामी बस्ने ठाउँ पनि त्यहीँ अफिसनजिकै थियो । उहाँ कोठामा आउनुभयो र आफ्नो झोला–सोला लिएर ‘बाढी आइरहेको छ, भागौँ’ भन्नुभयो । बाहिर निस्केपछि अरू सेफ्टीका सरहरू पनि बाहिर आउँदै गरेको देख्यौँ । हाम्रो कोठाको ढोका लगाएपछि बाहिरको आवाज कोठाभित्र सुनिँदैनथ्यो । त्यसैले उहाँले ‘बाढी आइरहेको छ, भागौँ’ भनेर खबर गर्नुभयो र झोला लिएर भाग्नुभयो । हामी पनि उहाँसँगै भाग्यौँ ।
बाढीले तपाईंलाई भेट्यो हैन ? तपाईं बाढीमा बग्नुभयो ?
हजुर । त्यहाँबाट मलाई बाढीले छाल हानेर डुबायो । त्यसपछि मलाई निकाल्थ्यो, फेरि डुबाउँथ्यो । खै, कति तलसम्म लग्यो थाहा भएन । मेरो होस आएन । होस आउँदा म पहाडको कुनामा, छेउमा पुगेको रहेछु । अनि म आफैं घिस्रिँदै–घिस्रिँदै लेदोबाट बाहिर निस्केँ । अलिअलि गर्दै माथिसम्म निस्केँ । पहाडमा आफैं चढ्दै अलि माथिसम्म पुगेँ ।
होसमा आउँदा तपाईंको छेउछाउ कोही मान्छे हुनुहुन्थ्यो कि हुनुहुन्थेन ?
कोही थिएन । म जब होसमा आएँ, त्यहाँ कोही थिएन । होस आएपछि म आफैं लेदोबाट निस्किएँ । अझै ठूलो बाढी आएर फेरि बगाउला भनेर म आफैं पहाडमा अलि माथिसम्म चढेँ । मभन्दा माथि आर्मीहरू रहेछन् । मेरो आवाज सुनेर उहाँहरू आउनुभयो ।
तपाईंलाई एक जना गोताखोरले उद्धार गरेको भन्ने पनि छ नि । त्यसबारे केही थाहा छ ?
आर्मी थिए, त्यति चाहिँ मलाई थाहा छ । आर्मीहरू थिए । मेरो आवाज सुनेर चार–पाँच जना आर्मी आउनुभएको थियो ।
नदीमा बग्दै गर्दा तपाईंलाई सशस्त्र प्रहरीका एक जनाले तानेर खोलाबाट निकाल्नुभएको हो भन्ने छ । त्योबारे थाहा छैन ?
नाइँ, त्योबारे मलाई थाहा छैन । म आफैं त्यहाँबाट निस्केको हुँ । लेदोबाट निस्किने बेलासम्म त्यहाँ कोही थिएन । त्यहाँसम्म चाहिँ मलाई थाहा छ ।
भनेपछि लेदोबाट निस्किएपछि तपाईं माथि जानुभयो र त्यहाँ आर्मी–पुलिसहरू भेट्नुभयो ?
हजुर । मभन्दा माथि आर्मीहरू हुनुहुन्थ्यो । मैले ‘बचाऊ, बचाऊ’ भनेँ । चिसोले म काँपिरहेको थिएँ । त्यसपछि उहाँहरू चार–पाँच जना जति म भएको ठाउँमा आउनुभयो ।
उहाँहरूले मलाई त्यहीँ बसाल्नुभयो र ‘यहीँ बस्नू, हामी तल एकछिन पुगेर आउँछौँ’ भन्नुभयो । उहाँहरू तल जानुभयो । ‘हेलिकप्टर बोलाइदिउँला’ भन्नुभएको थियो । धेरै बेरपछि उहाँहरू आउनुभयो । त्यहाँबाट एक–दुई जना तलतिर हुनुहुन्थ्यो । एक जना आएर मेरो हात समातेर अलि तलसम्म लैजानुभयो र त्यहाँ बसाल्नुभयो । त्यसको करिब डेढ घण्टापछि हेलिकप्टर आयो । त्यहाँबाट मलाई खै कहाँ लग्यो, थाहा भएन । मेरो आँखाले चाहिँ देख्दैनथ्यो, तर आवाज सुन्थेँ । मेरो शरीर, अनुहारमा सबै हिलोमाटो थियो ।
अनि त्यो हिलो कहाँ गएर धुनुभयो ?
खै, मुख कहाँ गएर धोएँ, थाहा छैन । कपडा पनि थिएन शरीरमा । भेस्ट मात्रै थियो । आर्मीहरूले आफ्नो झोलाबाट कट्टु निकालेर लगाइदिनुभएको थियो ।
तपाईंलाई हेलिकप्टरले त्यही दिन उद्धार गरेर कहाँ लग्यो ?
त्यही दिन खै कुन ठाउँमा लग्यो, थाहा भएन । अस्पतालमा लग्यो जस्तो लाग्छ । त्यहाँ अलिअलि होस आयो । त्यसपछि ‘काठमाडौँ’ भनेर आवाज सुने । त्यही दिन मलाई कति बजे ल्यायो, थाहा छैन ।
तपाईं बाढी आएको दिन नै काठमाडौं आउनुभएको हो ?
हो । त्यही दिन होला सायद । मलाई त्यहाँबाट पहाडको जंगलबाट खै कुन ठाउँमा लग्यो । त्यहाँबाट काठमाडौँ त्यही दिन राति ल्याएको भन्छन् यहाँका सोध्नेहरूले ।
अहिले तपाईंको स्वास्थ्य अवस्था कस्तो छ ?
अझै घाउहरू छन्, निको भएका छैनन् । अहिले पहिलाभन्दा चाहिँ ठीक भएको छु, अलिअलि । खुट्टामा घाउ अझै निको भएको छैन । ठूलो छ । टाउकोमा पनि छ । पेटमा पनि निको भएको छैन । पेट अझै दुख्छ ।
अब कहिले घर जाने ? केही कुरा भएको छ ?
यहाँ (अस्पताल) बाट डिस्चार्ज गर्ने भन्नुभएको छ आज । घर अझै जान्नँ । घाउ अझै निको भएको छैन । क्याम्पमै बस्ने भन्नुभएको छ ।
तपाईं कहिलेदेखि मैलुङमा त्यहाँ काम गर्नुहुन्थ्यो ? कति महिना वा वर्ष भयो ?
आउने–जाने गरेर मेरो ठ्याक्कै एक वर्ष पुग्यो । म पोहोर साल साउन महिनामा आएको थिएँ । फेरि माघ महिनामा घर गएँ । त्यसपछि फेरि आएँ । जेठ महिनामा घर गएँ । जेठमा घर गएर रोपाइँ सकेर साउन महिनामा भर्खरै आएको थिएँ । अहिले साउनमा आएको एक महिना मात्रै भएको थियो ।
– अनलाइनखबरबाट
Facebook Comment