थारूहरू समेत सम्पर्कविहीन भनिएको चिलिमे सुरुङबाट तीन जनाको शव निकालियो

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला परेको छ। रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारका क्रममा तीन जनाको शव फेला परेको हो।

गोताखोरसहितको टोली उक्त प्वालबाट प्रवेश गरी सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा तीन वटा शव फेला पारेको सेनाले जानकारी दिएको छ।

फेला परेका तीन शवमध्ये दुई वटा उद्धार गरी बाहिर निकालिएको छ भने एक शव बाहिर निकाल्ने कार्य जारी रहेको खोज तथा उद्धार टोलीले जनाएको छ।

संयुक्त खोज तथा उद्धार टोलीले हेलिकप्टरमार्फत स्याफ्रूबेसीमा पुर्‍याइएको एक्स्काभेटर र लोडर प्रयोग गरी चट्टान फोडेर करिब १ हजार ५० मिटर बाटो निर्माण गर्दै सुरुङसम्म पुगेर निरन्तर भग्नावशेष हटाउने काम गरेको थियो।

भग्नावशेष हटाउने क्रममा सुरुङको करिब ७० मिटरभित्रबाट पानी निस्किरहेको फेला परेको थियो। उक्त प्वालबाट उद्धार टोली प्रवेश गरी करिब १३० मिटरसम्म खोजी गर्दा पानीको सतह सुरुङको माथिल्लो भागसम्म पुगेकाले एक्स्काभेटर प्रयोग गर्न नसकिने अवस्था बनेको थियो। सुरुङभित्र थप खोजी कार्यसमेत जारी छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *