जापान फुकुओकामा थारूहरूले मनाए जितिया मिलन कार्यक्रम
जापानको फुकुओकामा जितिया मिलन कार्यक्रम मनाइएको छ। थारु समुदाय क्युशुले दोस्रो जितिया मिलन कार्यक्रम आयोजना गरेको हो। थारु समुदायको मौलिक भाषा, संस्कृति, परम्परा, कला र पहिचानलाई जापानमा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा थारु समुदायका विभिन्न मौलिक सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो।
कार्यक्रममा थारु संस्कृतिमा आधारित नाचगान, परम्परागत भेषभूषा, खानपिनलगायतका सांस्कृतिक प्रस्तुति विशेष आकर्षणका रूपमा रहेका थिए।
थारु समुदाय क्युशुका अध्यक्ष चन्द्रनन्द चौधरीको सभापतित्वमा भएको कार्यक्रममा Gaurab Mart, Tosu का सञ्चालक गौरव श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा जापानमा रहेका थारु समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विदेशमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानलाई निरन्तरता दिन तथा नयाँ पुस्तालाई थारु संस्कृतिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

जितिया समिति संयोजक गोबिन्द चौधरीले जापानमा रहेका थारु समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउन जितिया मिलन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले यस्ता कार्यक्रमले जापानमा रहेका थारु समुदायलाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्नुका साथै नेपाली तथा जापानी समाजमा थारु समुदायको संस्कृति र पहिचान चिनाउन सहयोग पुग्ने बताए।
कार्यक्रममा सहभागीहरूले थारु समुदायको मौलिक संस्कृति, कला, भेषभूषा, खानपिन र परम्परालाई विदेशमा समेत संरक्षण गर्दै आगामी पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिएका थिए।
‘अपन संस्कृति अपन संस्कार संरक्षण करु अपन पहिचान’ भन्ने भावनासहित सम्पन्न दोस्रो जितिया मिलन कार्यक्रमले जापानमा थारु समुदायको सांस्कृतिक एकता र पहिचानलाई थप बलियो बनाएको आयोजकको भनाइ छ।
Facebook Comment