चिनियाँ जासुसी रणनीतिको बदलिँदो स्वरूप
ताइवानका राष्ट्रपति लाई चिङ-तेका छोरामाथि निगरानी गरेको आरोपमा क्यालिफोर्नियाकी एक महिलाको गिरफ्तारीले चिनियाँ गुप्तचर गतिविधि परम्परागत जासुसीको दायराभन्दा धेरै टाढासम्म फैलिन सक्ने तथ्य उजागर गरेको छ। अक्टोबर ४ मा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले ३४ वर्षीया वानयिङ ‘हेदर’ झाङलाई चीन जानका लागि प्रस्थान गर्ने तयारी गरिरहेका बेला लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
संघीय अदालतमा पेस गरिएको उजुरीअनुसार झाङ सन् २०२५ मा सियाटल पुगेकी थिइन्। त्यहाँ उनले राष्ट्रपति लाईका छोरा र उनको परिवार बस्ने घर तथा उनीहरूले प्रयोग गर्ने सवारीसाधनका तस्बिर खिचेकी थिइन्। उनले परिवारका सदस्यहरूको गतिविधिसमेत अभिलेख गरी तस्बिर, भिडियो र सवारीसाधनका नम्बर प्लेटसम्बन्धी विवरण चिनियाँ अधिकारीहरूलाई पठाएको आरोप छ।
अनुसन्धानकर्ताहरूका अनुसार बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेसनल रिलेसन्समा अध्ययन गरेका एक पूर्वसहपाठीमार्फत झाङको चिनियाँ सरकारी सम्पर्क व्यक्तिसँग चिनजान भएको थियो। त्यसपछि चीन भ्रमणका क्रममा उनलाई उक्त निगरानी अभियानसम्बन्धी निर्देशन दिइएको आरोप छ। बेइजिङले भने यस घटनाबारे आफूलाई जानकारी नभएको जनाएको छ। साथै, चिनियाँ जासुससम्बन्धी आरोपलाई अतिरञ्जित गरिएको भन्दै आलोचना गरेको छ।
कुनै विदेशी राजनीतिक नेताबारे जानकारी जुटाउन सरकारले चासो राख्नु अस्वाभाविक होइन। तर, यस घटनालाई रोचक बनाउने पक्ष भनेको कथित जासुसीका लागि अपनाइएको तरिका हो। निगरानीको लक्ष्य कुनै सैन्य अखडा वा सरकारी कार्यालय थिएन। बरु, ताइवानबाट हजारौँ किलोमिटर टाढा अमेरिकामा बसिरहेका एक राजनीतिक नेताका परिवारका सदस्य थिए।
यस घटनाले चिनियाँ गुप्तचर गतिविधिको बदलिँदो स्वरूप बुझ्न मद्दत गर्छ। अमेरिका र युरोपमा सार्वजनिक भएका पछिल्ला घटनाहरूले व्यक्तिगत सम्बन्ध, रोजगारीसम्बन्धी अनलाइन प्लेटफर्म, शैक्षिक सञ्जाल, प्रवासी समुदाय र सामान्य व्यावसायिक सम्पर्कमार्फत सूचना प्राप्त गर्ने प्रयास बढिरहेको देखाउँछन्।
एफबीआईको उजुरीअनुसार झाङको चिनियाँ सरकारी अधिकारीसँग पूर्वसहपाठीमार्फत परिचय भएको थियो। अनुसन्धानकर्ताहरूले यही सम्बन्ध अन्ततः अमेरिकामा रहेका लाईको परिवारमाथि निगरानी गर्ने कार्यसम्म पुगेको आरोप लगाएका छन्। यदि यी आरोप प्रमाणित भए भने, उक्त अभियान कुनै नाटकीय भेटघाट वा औपचारिक भर्ती प्रक्रियाबाट सुरु भएको थिएन। बरु, पहिलेदेखि स्थापित व्यक्तिगत सम्बन्ध यसको आधार बनेको देखिन्छ।
अमेरिकी नौसेनाका पूर्वकर्मचारी जिनचाओ वेईको घटनामा पनि यस्तै प्रवृत्ति देखिएको थियो। अमेरिकी नौसेनामा काम गरिसकेका वेईलाई राष्ट्रिय रक्षासम्बन्धी सूचना चिनियाँ गुप्तचर अधिकारीलाई उपलब्ध गराएको अभियोगमा दोषी ठहर भएपछि सन् २०२६ को जनवरीमा १६ वर्षभन्दा बढी कैद सजाय सुनाइएको थियो।
अमेरिकी अभियोजनकर्ताहरूका अनुसार वेईलाई सुरुमा सामाजिक सञ्जालमार्फत आफूलाई चिनियाँ जहाज निर्माण कम्पनीमा कार्यरत नौसैनिक मामिलाका उत्साही व्यक्तिका रूपमा प्रस्तुत गर्ने एक व्यक्तिले सम्पर्क गरेका थिए। पछि उक्त सम्बन्ध अमेरिकी नौसेनाको युद्धपोत यूएसएस एसिक्स सम्बन्धी जानकारी माग्ने चरणमा पुगेको थियो। माग गरिएका विवरणमा तस्बिर तथा प्राविधिक सामग्रीसमेत थिए। यस कामबापत वेईलाई १२ हजार अमेरिकी डलरभन्दा बढी रकम भुक्तानी गरिएको थियो।
यी घटनाबाट देखिने निष्कर्ष स्पष्ट छ, जासुसीका लागि गरिने सम्पर्क कुनै साझा रुचि, व्यावसायिक सम्बन्ध वा अनलाइन कुराकानीबाट सुरु हुन सक्छ। सम्बन्ध स्थापित भएपछि भने माग गरिने सूचनाको संवेदनशीलता क्रमशः बढ्दै जान सक्छ।
यही कारणले जासुसी अभियानको प्रारम्भिक चरण पहिचान गर्न कठिन हुन्छ। सम्पर्कमा आएको व्यक्तिलाई आफू असामान्य गतिविधिमा संलग्न भइरहेको छ भन्ने आभाससमेत नहुन सक्छ। चिनियाँ गुप्तचर निकायहरूले सामान्य देखिने रोजगारीसम्बन्धी वेबसाइट र प्लेटफर्मको प्रयोग गरेको आरोपसमेत लाग्दै आएको छ।
सन् २०२६ को जुनमा फाइभ आइज भनिने पाँच देशको गुप्तचर साझेदारी सञ्जालका निकायहरूले चिनियाँ सैन्य गुप्तचर सेवाले संवेदनशील सरकारी तथा सैन्य सूचनामा पहुँच भएका व्यक्तिहरू पहिचान गर्न लिंक्डइन, इन्डिड र अपवर्कजस्ता प्लेटफर्म प्रयोग गरिरहेको चेतावनी दिएका थिए। उक्त चेतावनीअनुसार चिनियाँ गुप्तचर निकायसँग सम्बन्धित व्यक्तिहरूले आफूलाई रोजगारदाता, परामर्शदाता वा वैध कम्पनीका प्रतिनिधिका रूपमा प्रस्तुत गर्ने गरेका थिए।
यसको प्रक्रिया सामान्य रोजगारी खोज्ने गतिविधिजस्तै देखिन सक्छ। कुनै कम्पनीले रक्षा, विदेश नीति वा प्रविधिमा अनुभव भएको परामर्शदाता आवश्यक परेको विज्ञापन निकाल्छ। इच्छुक व्यक्तिहरूले आफ्नो व्यक्तिगत विवरण र अनुभवसहितको बायोडाटा पठाउँछन्। यसरी सम्पर्क गर्ने व्यक्तिले कुन उम्मेदवारले कुन सरकारी निकायमा काम गरेको छ वा कससँग विशेष प्राविधिक ज्ञान छ भन्ने जानकारी प्राप्त गर्न सक्छ।
सुरुमा दिइने काम वैधसमेत हुन सक्छ। उदाहरणका लागि, कुनै उम्मेदवारलाई चीनको विदेश नीति वा हिन्द–प्रशान्त क्षेत्रका घटनाक्रमबारे लेख्न लगाउन सकिन्छ। तर, पछि माग गरिने विवरण सार्वजनिक रूपमा उपलब्ध नभएका सूचनातर्फ मोडिन सक्छन्। त्यसपछि कुराकानी इन्क्रिप्सन गरिएका सन्देश आदानप्रदान गर्ने एपमा सारिन सक्छ। भुक्तानी भने बिचौलिया वा क्रिप्टोकरेन्सीमार्फत हुन सक्छ।
अमेरिकी अधिकारीहरूले सन् २०२६ मा यस्तै विधि प्रयोग गरिएको एउटा सञ्जालमाथि कारबाही गरेका थिए। अमेरिकी न्याय मन्त्रालयका अनुसार १३ वटा वेबसाइटमार्फत सुरक्षा स्वीकृति प्राप्त गरेका वा पहिले प्राप्त गरिसकेका व्यक्तिहरूलाई लक्षित गरिएको थियो। उक्त सञ्जालका सञ्चालकहरूले नक्कली कम्पनी, चोरी गरिएका पहिचान विवरण, कृत्रिम बुद्धिमत्ता (एआई) बाट बनाइएका तस्बिर र रोजगारीसम्बन्धी प्लेटफर्म प्रयोग गरी सम्पर्कलाई वास्तविक देखाउने प्रयास गरेको आरोप थियो।
शैक्षिक तथा प्रविधिसम्बन्धी सञ्जालमा पनि यस्तै चुनौती देखिन्छ। सन् २०२६ को सेप्टेम्बरमा बेलायतको गुप्तचर निकाय एमआ-५ ले चीनसँग सम्बन्धित एक संस्थाले बेलायतका १०० भन्दा बढी प्राज्ञिक व्यक्तिहरू संलग्न अनुसन्धानमा आर्थिक सहयोग गरेको आरोप लगाएको थियो। उक्त अनुसन्धान कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा र गोप्य सञ्चारलगायतका क्षेत्रमा केन्द्रित थियो।
बेलायती अधिकारीहरूका अनुसार केही प्राज्ञिक व्यक्तिहरूले आफूहरूले गरेको अनुसन्धान अन्ततः चिनियाँ गुप्तचर क्षमताको विकासमा प्रयोग हुन सक्ने कुरा थाहा नपाएको हुन सक्छ। चीनले भने यी आरोप अस्वीकार गरेको थियो।
अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य आफैँमा जासुसी होइन। विदेशी विश्वविद्यालयसँग सहकार्य गर्ने चिनियाँ अनुसन्धानकर्ताहरूलाई स्वतः गुप्तचर गतिविधिमा संलग्न ठान्न मिल्दैन। विश्वभरका विश्वविद्यालयहरूले नियमित रूपमा सीमापार अनुसन्धान र शैक्षिक सहकार्य गर्दै आएका छन्, जसमा चिनियाँ संस्थाहरूसँगको साझेदारी पनि पर्छ।
चिन्ता त्यतिबेला उत्पन्न हुन्छ, जब वैध अनुसन्धान सम्बन्धलाई प्रतिबन्धित सूचना, प्राविधिक विशेषज्ञता वा अन्यथा प्राप्त गर्न कठिन हुने पहुँच हासिल गर्ने माध्यमका रूपमा नियोजित ढङ्गले प्रयोग गरिन्छ। कृत्रिम बुद्धिमत्ता, उन्नत कम्प्युटिङ र साइबर सुरक्षाजस्ता क्षेत्रमा यो विषय अझ महत्त्वपूर्ण हुन्छ। यस्ता क्षेत्रमा ज्ञान र विशेषज्ञता पनि भौतिक प्रविधिजत्तिकै मूल्यवान् हुन सक्छन्।
केही उल्लेखनीय घटनाहरू गोप्य सरकारी दस्तावेज चोरी गर्नुभन्दा पनि चिनियाँ सरकारका आलोचक, ताइवानी अधिकारी र विदेशमा रहेका चिनियाँभाषी समुदायमाथि निगरानी गर्ने गतिविधिसँग सम्बन्धित छन्।
अमेरिकामा याओनिङ ‘माइक’ सुनलाई गैरकानुनी रूपमा चिनियाँ एजेन्टका रूपमा काम गरेको अभियोग स्वीकार गरेपछि यसै वर्ष चार वर्षको जेल सजाय सुनाइएको थियो। अमेरिकी अभियोजनकर्ताहरूका अनुसार उनले सन् २०२३ मा ताइवानकी तत्कालीन राष्ट्रपति साई इङ–वेनको क्यालिफोर्निया भ्रमणका क्रममा निगरानी गरेका थिए। उनले साईका गतिविधिबारे चिनियाँ अधिकारीहरूलाई जानकारी दिनुका साथै उनको भ्रमणका क्रममा भएका प्रदर्शनमा सहभागी व्यक्तिहरूको तस्बिरसमेत खिचेका थिए।
बेलायतमा पनि यस्तै प्रकृतिका घटनाहरू सार्वजनिक भएका छन्। सन् २०२६ को जुनमा दुई व्यक्तिलाई विदेशी गुप्तचर सेवाका लागि चीनको पक्षमा निगरानी तथा सूचना सङ्कलन गरेको अभियोगमा दोषी ठहर गर्दै क्रमशः आठ र १० वर्षको कैद सजाय सुनाइएको थियो। तीमध्ये एक व्यक्तिले यसअघि लन्डनस्थित हङकङ आर्थिक तथा व्यापार कार्यालयमा काम गरेका थिए। अभियोजनकर्ताहरूका अनुसार उक्त कार्यालय गतिविधि सञ्चालन गर्न र आर्थिक सहयोग जुटाउन प्रयोग गरिएको थियो।
यी घटनाले गुप्तचर गतिविधिको परिभाषालाई अझ फराकिलो बनाउँछन्। कुनै प्रदर्शनमा को सहभागी भइरहेको छ, कुनै असन्तुष्ट व्यक्ति कहाँ बस्छ वा कोसँग भेटघाट गर्छ भन्ने जानकारी पहिलो दृष्टिमा राज्यको गोप्य सूचना नदेखिन सक्छ। तर, यस्ता विवरणले विदेशमा रहेका राजनीतिक विरोधी र समुदायका सदस्यहरूमाथि निगरानी गर्न सरकारलाई सहयोग पुर्याउन सक्छन्।
मुख्यभूमि चीनबाहिर ठूलो सङ्ख्यामा चिनियाँभाषी समुदाय बसोबास गर्ने भएकाले यस्तो गतिविधिको सम्भावित महत्त्व थप बढ्छ। प्रवासी समुदायका सञ्जालले सूचना र पहुँच दुवै उपलब्ध गराउन सक्छन्। चीनसँग व्यक्तिगत वा व्यावसायिक सम्बन्ध भएका व्यक्तिहरूलाई पूर्णतः अपरिचित व्यक्तिभन्दा सम्पर्क गर्न सजिलो पनि हुन सक्छ।
यद्यपि, विदेशमा बस्ने चिनियाँ मूलका व्यक्तिहरू वा चिनियाँभाषी समुदायका सबै सदस्यलाई शङ्काको दृष्टिले हेर्न मिल्दैन। निगरानी वा गुप्तचर गतिविधिसम्बन्धी आरोपको मूल्याङ्कन व्यक्तिको जातीय वा भाषिक पृष्ठभूमिका आधारमा नभई प्रमाण र वास्तविक संलग्नताका आधारमा हुनुपर्छ।
पछिल्ला घटनाहरूले चिनियाँ जासुसी गतिविधि कुनै एउटै तरिकामा निर्भर नरहेको देखाउँछन्। बरु, यसमा विभिन्न विधि एकअर्कासँग जोडिएका हुन सक्छन्। नौसेनाका पूर्वकर्मचारीलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न सकिन्छ। रोजगारी खोजिरहेका व्यक्तिलाई भर्तीसम्बन्धी प्लेटफर्मबाट नजिकिन सकिन्छ। प्राज्ञिक व्यक्तिसँग अनुसन्धान साझेदारी स्थापित गर्न सकिन्छ। राजनीतिक कार्यकर्तालाई प्रवासी समुदायभित्र सक्रिय व्यक्तिमार्फत निगरानी गर्न सकिन्छ। ताइवानसम्बन्धी पछिल्लो घटनामा लगाइएको आरोपजस्तै, कुनै व्यक्तिलाई राजनीतिक नेताको परिवारको सामान्य भौतिक निगरानी गर्नसमेत परिचालन गर्न सकिन्छ।
चिनियाँ गुप्तचर गतिविधिमा साइबर जासुसी अझै महत्त्वपूर्ण हिस्सा हो। तर, मानवीय स्रोतबाट सूचना सङ्कलन गर्ने परम्परागत विधि हराएको छैन। बरु, यी दुई विधिबीचको सम्बन्ध थप घनिष्ठ हुँदै गएको देखिन्छ।
डिजिटल प्लेटफर्मले सम्भावित स्रोत वा सहयोगी पहिचान गर्न, उनीहरूसँग सम्बन्ध स्थापित गर्न र प्रत्यक्ष भेटघाट हुनुअघि नै आवश्यक पहुँच प्राप्त गर्न सहज बनाउँछन्। यसरी प्रविधिले परम्परागत मानवीय गुप्तचर गतिविधिलाई विस्थापित गर्नुको सट्टा त्यसलाई थप प्रभावकारी बनाउन सक्ने सम्भावना देखिन्छ।
ताइवानका राष्ट्रपति लाई चिङ–तेका परिवारमाथि निगरानी गरेको आरोपसम्बन्धी घटनाले त्यसैले अमेरिका-चीन तनावको अर्को उदाहरण मात्र प्रस्तुत गर्दैन। यसले आधुनिक गुप्तचर अभियान आफ्नो मूल लक्ष्यभन्दा कति टाढासम्म पुग्न सक्छ र परम्परागत रूपमा कल्पना गरिने जासुसीको स्वरूपभन्दा कति फरक देखिन सक्छ भन्ने प्रश्नसमेत उठाउँछ।
आजको जासुसी सधैँ गोप्य दस्तावेज चोरी गर्ने, सैन्य अखडामा प्रवेश गर्ने वा गोप्य बैठकमा सहभागी हुने गतिविधिमा सीमित छैन। कहिलेकाहीँ यो सामान्य मित्रता, रोजगारीको प्रस्ताव, अनुसन्धान सहकार्य वा सामाजिक सञ्जालमा सुरु भएको कुराकानीबाट अघि बढ्न सक्छ। त्यसैले यस्ता गतिविधि पहिचान गर्ने चुनौती केवल सुरक्षा निकायका लागि मात्र नभई सरकार, विश्वविद्यालय, व्यावसायिक संस्था र डिजिटल प्लेटफर्मका लागि पनि महत्त्वपूर्ण बन्दै गएको छ।
Facebook Comment