भारतीय प्रधानमन्त्री मोदीसँग पाइलट स्मितले भने- म ती मानिसहरूलाई मर्न दिन सक्दिनँथे
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाइदुबईका पाइलट क्याप्टेन स्मित मच्छरसँग फोनमा कुराकानी गरेका छन्। उनले स्मितको साहस र सुझबुझको प्रशंसासमेत गरेका छन्।
प्रधानमन्त्री मोदीले देशभर उनका लागि दीर्घायु र शीघ्र स्वास्थ्यलाभको कामना भइरहेको बताए। गम्भीर चोट लागे पनि यात्रुहरूको ज्यान बचाउन क्याप्टेन स्मितले लिएको निर्णयप्रति सम्पूर्ण देशलाई गर्व रहेको उनले बताए।
प्रधानमन्त्री मोदीले भने, ‘पूरै देश तपाईंका लागि प्रार्थना गरिरहेको छ। ठाउँ-ठाउँमा महामृत्युञ्जय मन्त्रको जप भइरहेको छ। तपाईंको साहस, धैर्य र सुझबुझले धेरै मानिसको ज्यान बचाएको छ। तपाईंले भारतीयहरू ज्यान लिने होइन, ज्यान बचाउने मानिस हुन् भन्ने देखाउनुभएको छ।’
प्रधानमन्त्री मोदीले क्याप्टेन स्मित स्वयं गम्भीर घाइते भएर जीवन-मृत्युको संघर्ष गरिरहेका भए पनि आफ्नो ज्यानको परवाह नगरी यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिएको बताए। उनको साहसिक कदमले १४० करोड भारतीयको सम्मान बढाएको प्रधानमन्त्री मोदीको भनाइ थियो।
क्याप्टेन स्मितले प्रधानमन्त्री मोदीलाई घटनाका क्रममा आफू लडेर घाइते भएको बताए। आफूलाई धेरै चोट लागे पनि विमानभित्रको अवस्था बिग्रिँदै गएको महसुस भइरहेको उनले बताए।
उनले भने, ‘मलाई लाग्यो, यदि म उठिनँ र केही कदम चालिनँ भने अवस्था झन् खराब हुनेछ। म १७ वर्षदेखि विमान उडाइरहेको छु र पछिल्ला ११ वर्षदेखि क्याप्टेन छु। मलाई आँखा बन्द गरेर पनि विमानभित्र के भइरहेको छ भन्ने थाहा हुन्छ। म तल लडिरहेको बेला पनि अवस्था बिग्रिँदै गएको महसुस गरिरहेको थिएँ।’
क्याप्टेन स्मितले अन्तिम प्रयास गर्दै ककपिटको ढोका खोलेपछि अन्य व्यक्तिहरू पनि बाहिर आउन सकेको बताए। उनले यस क्रममा अन्य व्यक्तिहरूको पनि महत्वपूर्ण भूमिका रहेको बताए।
उनले भने, ‘म आफ्नो ज्यान बचाउने हिसाबले अघि बढिरहेको थिएँ। तर, त्यही समयमा मलाई थाहा थियो, म ती मानिसहरूलाई मर्न दिन सक्दिनँ।’
प्रधानमन्त्री मोदीसँग कुराकानीका क्रममा क्याप्टेन स्मित भावुक भएका थिए। उनले आफूले पीडाका बेला हनुमान चालिसा पाठ गरिरहे र भगवानले नै आफ्नो ज्यान बचाएको विश्वास रहेको बताए।
उनले भने, ‘म धेरै सकारात्मक छु। जब मलाई दुख्छ, मलाई एउटै कुरा आउँछ, म हनुमान चालिसा पढिरहेको हुन्छु। मलाई थाहा छ, भगवानले नै मलाई बचाउनुभएको हो।’
क्याप्टेन स्मितले आफूले चोटलाई केवल घाउका रूपमा नहेरेको, बरु क्रमशः निको हुँदै जाने यात्राका रूपमा लिएको बताए। आफू पूर् रूपमा स्वस्थ हुनेमा विश्वस्त रहेको उनको भनाइ थियो।
उनले हरेक बिहान पूजाका बेला आफ्नो दुई वर्षीय छोरा काखमा बस्ने र आफूले उनलाई हनुमान चालिसा सुनाउने गरेको पनि बताए। विदेशमा रहे पनि आफ्नो संस्कृतिबाट टाढा हुन नहुने उनको भनाइ थियो।
प्रधानमन्त्री मोदीले क्याप्टेन स्मितका पिता भूपेन्द्रभाइ, आमा गीताबेन र पत्नी सोनलबेनसँग भएको कुराकानीको स्मरण गर्दै परिवारको धैर्यको प्रशंसा गरे।
मोदीले गीताबेनले स्मितलाई राम्रो संस्कार दिएको बताए। उनले सोनलबेनको साहस र संयमको पनि प्रशंसा गरे।
प्रधानमन्त्री मोदीले सावरकुन्डलालगायत भारतका विभिन्न स्थानमा क्याप्टेन स्मितको दीर्घायु र शीघ्र स्वास्थ्यलाभका लागि पूजाअर्चना भइरहेको बताए। पूरा भारत क्याप्टेन स्मित स्वस्थ भएर फर्किएको हेर्न प्रतीक्षारत रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री मोदीले क्याप्टेन स्मितको उपचार र हेरचाहका लागि साउदी अरब र संयुक्त अरब इमिरेट्सका सरकारलाई पनि धन्यवाद दिए। आवश्यक परेको अवस्थामा आफू केवल एक फोनको दूरीमा रहेको उनले बताए।
प्रधानमन्त्री मोदीले भने, ‘तपाईंले वास्तवमै भारतको नाम जोगाउनुभएको छ। तपाईं पूर्ण रूपमा स्वस्थ हुनुहोस्, पूरा देश तपाईंको साथमा छ।’
Facebook Comment