फ्लाइदुबई घटनालाई ‘आतंकवादी हमला’ पुष्टि, इस्लामिक अतिवादको निरन्तर खतरा
संयुक्त अरब इमिरेट्स (यूएई) ले दुबई–तेल अभिभ उडानका क्रममा भएको फ्लाइदुबई विमान घटनालाई ‘आतंकवादी हमला’का रूपमा पुष्टि गरेको छ। यूएईका अभियोजन अधिकारीका अनुसार विमानका सहपाइलट हमाम अल हमामीले उडानकै क्रममा भारतीय पाइलट क्याप्टेन स्मित मच्छरमाथि ककपिटमा राखिएको ‘क्र्यास एक्स’ (आपत्कालीन बन्चरो) प्रयोग गरी आक्रमण गरेका थिए।
शनिबार सार्वजनिक विवरणअनुसार, अल हमामीले क्याप्टेन मच्छरमाथि आक्रमण गरेपछि विमानको नियन्त्रण आफ्नो हातमा लिने प्रयास गरेका थिए।
समाचार संस्था डब्लूएएमका अनुसार यूएईका महान्यायाधिवक्ता हमाद सैफ अल शम्सीले सहपाइलटले उडानकै क्रममा आफ्नो योजना कार्यान्वयन गर्दै ककपिटभित्र क्याप्टेनमाथि क्र्यास एक्सबाट आक्रमण गरेको र विमान नियन्त्रणमा लिने प्रयास गरेको बताएका छन्।
यस घटनाबाट उडानकै क्रममा क्याप्टेनमाथि भएको आक्रमणबारे थप विवरण सार्वजनिक भएको छ। आपत्कालीन अवस्थामा विमानलाई थप क्षति हुन नदिन गरेको प्रयासका कारण भारतीय पाइलट मच्छरलाई ‘नायक’का रूपमा समेत प्रशंसा गरिएको छ।
अन्तर्राष्ट्रिय हवाई उड्डयन नियमअनुसार यात्रुवाहक व्यावसायिक विमानमा क्र्यास एक्स राखिनु अनिवार्य हुन्छ। यस्तो उपकरण सामान्यतः ककपिटभित्र राखिन्छ र विमान दुर्घटना वा अन्य आपत्कालीन अवस्थामा चालक दलले प्रयोग गर्न सक्ने व्यवस्था हुन्छ।
यसअघि व्यावसायिक विमानका क्र्यास एक्स यात्रु बस्ने मुख्य क्याबिनमा राखिन्थे। तर सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी हमलापछि हवाई सुरक्षासम्बन्धी चिन्ता बढेपछि यसको स्थान ककपिटमा सारिएको थियो।
घटनाबारे अनुसन्धान भने अझै जारी छ। अनुसन्धानकर्ताहरूले सहपाइलट अल हमामीको विगत र उनको सम्भावित उद्देश्यबारे पनि अध्ययन गरिरहेका छन्।
सेप्टेम्बर ३० मा दुबईबाट इजरायलको तेल अभिवतर्फ उडेको बोइङ ७३७ विमानमा सहपाइलटले विमानलाई क्षति पुर्याउने प्रयास गरेका थिए। त्यस क्रममा उनलाई रोक्न खोज्दा क्याप्टेन स्मित मच्छरमाथि आक्रमण भएको बताइएको छ।
त्यतिबेला विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेको थियो। घटनापछि विमान प्रतिमिनेट करिब २३ हजार फिटको दरले तल झर्न थालेको र करिब १५ हजार ६ सय फिटसम्म पुगेको बताइएको छ।
तर क्याप्टेन मच्छरले सहपाइलटको प्रतिरोध गर्दै उनलाई नियन्त्रणमा लिन प्रयास गरे। उनले ककपिटको ढोका पनि खोले, जसबाट यात्रु तथा चालक दलका अन्य सदस्यले सहपाइलटलाई नियन्त्रणमा लिन सहयोग पुर्याए। विमानमा रहेका अन्य दुई पाइलटको सहयोगमा विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा आपत्कालीन अवतरण गराइएको थियो।
यसैबीच, यूएईका महान्यायाधिवक्ता हमाद सैफ अल शम्सीले घटनाको अनुसन्धानका लागि विशेष अनुसन्धान टोली गठन गर्न निर्देशन दिएका छन्। टोलीले घटनाको पृष्ठभूमि, कारण तथा आतंकवादी गतिविधि वा उद्देश्यसँग यसको सम्भावित सम्बन्धबारे अनुसन्धान गर्नेछ।
यूएईको विदेश मन्त्रालयका अनुसार सार्वजनिक अभियोजन कार्यालयका विशेषज्ञ अधिकारीहरू सम्मिलित टोलीले घटनाका सम्पूर्ण परिस्थिति र कारणको अध्ययन गर्नेछ।
घटना व्यवस्थापनमा सहयोग गरेको भन्दै यूएईले साउदी अरबका अधिकारीहरूप्रति पनि आभार व्यक्त गरेको छ।
मिडिया रिपोर्टहरूका अनुसार अल हमामीलाई अतिवादी विचारधारा अपनाएको आशंकामा आफ्नै देश ओमानमा उडानसम्बन्धी जिम्मेवारीबाट रोक लगाइएको थियो। उनले लामो समय ओमानबाहिर, विशेषगरी सिरियामा बिताएको र त्यहाँ रहँदा अतिवादी विचारबाट प्रभावित भएको आरोपसमेत रिपोर्टहरूमा उल्लेख गरिएको छ। त्यसपछि उनी यूएई पुगेका थिए।
सीएनएनका अनुसार अल हमामीले फ्लाइदुबईमा काम गर्न थालेको करिब आठ महिना मात्र भएको थियो। पछि हटाइएको उनको लिंक्डइन प्रोफाइलमा उनले ओमान एयरमा करिब सात वर्ष काम गरेको र सन् २०२५ फेब्रुअरीमा त्यहाँबाट अलग भएको उल्लेख रहेको बताइएको छ।
त्यसपछि उनले सन् २०२५ जुनमा रोयल एयर मारोकमा काम थालेको र यस वर्ष जनवरीमा त्यहाँबाट अलग भई फ्लाइदुबईमा आबद्ध भएको रिपोर्टहरूमा उल्लेख छ।
घटनाको करिब नौ घण्टाको अवधिमा हटाइएको उक्त प्रोफाइलबाट दुईवटा पोस्ट गरिएको र ती दुवै आतंकवादसँग सम्बन्धित रहेको दाबी गरिएको छ।
तीमध्ये एउटा पोस्टमा बोइङ ७३७ म्याक्स विमानको ककपिटभित्र खिचिएका विभिन्न भिडियो क्लिपहरू रहेको बताइएको छ। भिडियो खिच्ने व्यक्तिले इजरायली विमान कम्पनी एल अलको विमानतर्फ पनि क्यामेरा केन्द्रित गरेको रिपोर्टमा उल्लेख छ।
उक्त भिडियोको अन्त्यमा अल–कायदाका नेता ओसामा बिन लादेनपछि संगठनको नेतृत्व गरेका अयमन अल जवाहिरीको तस्बिर तथा सन् २००९ मा अमेरिकी अधिकारीहरूलाई लक्षित आत्मघाती बम विस्फोटमा नौ जनाको ज्यान लिएका हुमाम खलिल अबु–मुलाल अल–बलावीको तस्बिर देखाइएको बताइएको छ।
अर्को पोस्टमा इस्लाम धर्मका मक्का, मदिना र जेरुसेलमस्थित तीन प्रमुख पवित्र स्थललाई चित्रण गरिएको कृत्रिम बुद्धिमत्ता (एआई)बाट तयार गरिएको तस्बिर रहेको बताइएको छ।
सीएनएनका अनुसार उक्त तस्बिरको पृष्ठभूमिमा बजाइएको कवितामा अपमान अस्वीकार गर्ने, मृत्युसँग नडराउने र आफ्नो सम्मानको रक्षा गर्ने भाव व्यक्त गरिएको थियो।
सीएनएनकै अर्को रिपोर्टअनुसार अल हमामीको अहिले हटाइसकिएको एक्स खाताबाट उनी ‘धार्मिक रूपमा कट्टर र महिलाप्रति नकारात्मक दृष्टिकोण राख्ने व्यक्ति’का रूपमा चित्रित भएको देखिएको थियो। केही अन्य सञ्चारमाध्यमले उनका पूर्वसहकर्मीलाई उद्धृत गर्दै उनलाई धार्मिक अतिवादीका रूपमा वर्णन गरेका छन्।
यद्यपि, अल हमामीको उद्देश्य, पृष्ठभूमि र घटनासँग उनको सम्भावित सम्बन्धबारे अनुसन्धान अझै जारी रहेकाले उनका गतिविधि र उद्देश्यका सम्बन्धमा अन्तिम निष्कर्ष आउन बाँकी छ।
Facebook Comment