चीनका विद्यालयमा ‘लाल शिक्षा’ : हरेक कक्षामा सी चिनफिङको विचार
चीनको शिक्षा प्रणालीमा व्यापक राजनीतिक रूपान्तरण भइरहेको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधिदेखि विद्यार्थीलाई कक्षामा विभाजन गर्ने प्रक्रियासम्म आफ्नो प्रभाव थप कडा बनाउँदै लगेको छ। यसको एउटा उदाहरण अंग्रेजी भाषाका पाठ्यपुस्तकमा देखिएको परिवर्तन हो।
चीनले प्राथमिक तथा माध्यमिक तहका विद्यार्थीका लागि प्रयोग हुने अंग्रेजी पाठ्यपुस्तक परिमार्जन गरेको छ। सन् २०२६ को शरद् सत्रदेखि नयाँ सामग्री देशभर लागू हुँदैछ। नयाँ पाठ्यपुस्तकमा लन्डनका टावर ब्रिज र बिग बेनजस्ता स्थल तथा ह्यालोविनजस्ता विदेशी संस्कृतिसँग सम्बन्धित सामग्री हटाएर छिङ वंशका विचारक लियाङ छिचाओ, ड्रागन बोट पर्व र चीनका वैदेशिक सहायता कार्यक्रमबारे सामग्री राखिएको छ।
चिनियाँ अधिकारीहरूले यसको उद्देश्य विद्यार्थीलाई ‘चीनका कथाहरू प्रभावकारी रूपमा भन्न’ सक्षम बनाउनु र देशभक्तिको भावना बलियो बनाउनु रहेको बताएका छन्। यसअघि प्रयोग भएका पाठ्यपुस्तकमा ‘क्रान्तिकारी संस्कृति र उन्नत समाजवादी संस्कृति’सम्बन्धी पर्याप्त सामग्री नभएको पनि शिक्षा अधिकारीहरूले बताएका छन्।
यो परिवर्तन पाठ्यपुस्तक सम्पादनमा मात्र सीमित छैन। परम्परागत रूपमा विदेशी भाषा र संस्कृतिसँग विद्यार्थीलाई परिचित गराउने विषयका रूपमा रहेको अंग्रेजी शिक्षालाई समेत समाजवाद, क्रान्ति र देशभक्तिका विषयलाई बलियो बनाउने माध्यमका रूपमा प्रयोग गर्न थालिएको छ।
यो सन् २०२० यता तीव्र बनेको चीनको शिक्षा नीतिको व्यापक पुनर्संरचनाको एउटा हिस्सा हो। यस क्रममा चीनको शिक्षा प्रणालीका लगभग सबै तह र विषयमा राजनीतिक तथा वैचारिक आवश्यकताहरू समावेश गरिँदै आएका छन्।
शिक्षा ‘पार्टीको काम’ का रूपमा
चीनको शिक्षा प्रणालीमा राजनीतिक पक्षको महत्त्व बेइजिङमा जुलाईमा आयोजित राष्ट्रिय आधारभूत शिक्षा कार्य सम्मेलनमा पनि देखिएको थियो। चिनियाँ सरकारी सञ्चारमाध्यमले आधारभूत शिक्षासम्बन्धी सी चिनफिङका निर्देशनहरू सार्वजनिक गरेपछि उक्त सम्मेलन आयोजना गरिएको थियो।
चिनियाँ कम्युनिस्ट पार्टीको संस्थागत शब्दावलीमा ‘कार्य’ शब्द सामान्य प्रशासनिक अर्थमा मात्र प्रयोग हुँदैन। ‘एकीकृत मोर्चा कार्य’, ‘प्रचार कार्य’, ‘वैचारिक कार्य’ र ‘शिक्षा कार्य’ जस्ता शब्दले पार्टीका नीति निर्माण र कार्यान्वयन गर्ने संगठित संयन्त्रलाई जनाउँछन्।
जुलाईको सम्मेलनमा सीले शिक्षाकर्मीलाई ‘पार्टीको नवीन सिद्धान्त प्रयोग गरेर निरन्तर रूपमा आकार दिन र शिक्षित गर्न’ आग्रह गरेका थिए। उपप्रधानमन्त्री तिङ स्युएसियाङले पनि सी चिनफिङ विचारको भूमिकामा जोड दिँदै शिक्षालाई स्पष्ट रूपमा राजनीतिक, सामाजिक र रणनीतिक दृष्टिकोणबाट व्याख्या गरेका थिए।
यसले शिक्षाको प्राथमिकतामा आएको परिवर्तनलाई देखाउँछ। शिक्षा अब शैक्षिक तथा व्यावसायिक विकासको माध्यमका रूपमा मात्र नभई राजनीतिक दृष्टिकोण र राष्ट्रिय पहिचान निर्माण गर्ने साधनका रूपमा पनि प्रयोग भइरहेको छ।
कक्षाकोठामा प्रवेश गर्दै सी चिनफिङ विचार
यो प्रक्रिया चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका विभिन्न निर्देशनमार्फत औपचारिक बनाइएको हो।
डिसेम्बर २०२० मा सीसीपी केन्द्रीय प्रचार विभाग र शिक्षा मन्त्रालयले संयुक्त रूपमा जारी गरेको निर्देशनले अनिवार्य विश्वविद्यालय शिक्षण सामग्री तयार गर्ने जिम्मेवारी यी दुई निकायलाई दिएको थियो। साथै, पार्टीको वैचारिक जिम्मेवारी प्रणालीअन्तर्गत पाठ्यक्रम कार्यान्वयन गर्न भनिएको थियो।
जुलाई २०२१ मा राष्ट्रिय पाठ्यपुस्तक समितिले ‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादसम्बन्धी सी चिनफिङ विचार’लाई विदेशी भाषा शिक्षासहित विभिन्न विषय र शैक्षिक तहमा समावेश गर्न निर्देशन दिएको थियो।
त्यसको अर्को महिना शिक्षा मन्त्रालयले विश्वविद्यालयबाट विद्यालय तहसम्म सी चिनफिङ विचारको शिक्षालाई विस्तार गर्यो। यसमा प्राथमिक तहसमेत समावेश थियो। यसको घोषित उद्देश्य बालबालिकामा देश, कम्युनिस्ट पार्टी र समाजवादप्रति लगाव विकास गर्नु तथा उनीहरूलाई ‘सानै उमेरदेखि पार्टीको अनुसरण गर्ने’ बनाउनु थियो।
यसबाट तयार गरिएका पाठ्यपुस्तकको सामग्रीले यो नीति व्यवहारमा कसरी लागू भइरहेको छ भन्ने देखाउँछ। उदाहरणका लागि, कक्षा ३ को एउटा पाठ्यपुस्तकमा ‘हामी हृदयदेखि कम्युनिस्ट पार्टीको अनुसरण गर्छौँ’ शीर्षकको अध्याय राखिएको छ। त्यसमा सीलाई ‘हजुरबा सी चिनफिङ’ भनेर सम्बोधन गरिएको एउटा खण्डसमेत छ।
उक्त खण्डमा सीले अनाथालय, समुद्री सुविधा केन्द्र, गरिब परिवार तथा जातीय अल्पसंख्यक समुदायको भ्रमण गरेका तस्बिरहरू प्रयोग गरिएको छ। यस्तो सामग्री राजनीतिक इतिहास वा नागरिक शिक्षामा मात्र सीमित छैन। यसले समकालीन पार्टी नेतृत्वलाई साना बालबालिकाको दैनिक शैक्षिक अनुभवमै प्रत्यक्ष रूपमा जोड्छ।
देशभक्ति कानुनी आवश्यकता बन्दै
शिक्षाको राजनीतिक भूमिकालाई थप कानुनी आधार सन् २०२४ जनवरी १ देखि लागू भएको ‘देशभक्ति शिक्षा कानुन’ले दिएको छ। यो कानुन राष्ट्रिय जनकांग्रेसको स्थायी समितिले पारित गरेको थियो।
कानुनले सबै तहका विद्यालयलाई पाठ्यक्रमभर देशभक्तिसम्बन्धी शिक्षा समावेश गर्न अनिवार्य गरेको छ। यसअन्तर्गत वैचारिक तथा राजनीतिक सिद्धान्तका साथै अन्य विषय र पाठ्यपुस्तकमा समेत देशभक्तिको शिक्षा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसको जिम्मेवारी विद्यालयमा मात्र सीमित छैन। अभिभावक तथा संरक्षकलाई पनि पारिवारिक शिक्षामा देशभक्तिको भावना समावेश गर्नुपर्ने दायित्व तोकिएको छ। त्यस्तै, सरकारी तथा सार्वजनिक संस्थान र उद्योग–व्यवसायलाई आफ्ना तालिम कार्यक्रमहरूमा देशभक्तिसम्बन्धी शिक्षा समावेश गर्न भनिएको छ।
व्यापक वैचारिक परियोजना
यी सबै परिवर्तनलाई एकसाथ हेर्दा चीनको शिक्षा प्रणालीमा शैक्षिक शिक्षण र राजनीतिक शिक्षाबीचको सम्बन्ध थप गहिरिँदै गएको देखिन्छ। केही पाठ्यपुस्तकमा विदेशी संस्कृतिसम्बन्धी सामग्री घटाइएको छ। सी चिनफिङ विचारलाई विभिन्न शैक्षिक तह र विषयमा समावेश गरिएको छ। देशभक्तिसम्बन्धी शिक्षाले कानुनी रूप लिएको छ। पार्टीका संस्थाहरूलाई शिक्षा नीति निर्देशनमा औपचारिक भूमिका दिइएको छ। विद्यार्थीलाई विद्यालयभित्र कसरी विभाजन तथा व्यवस्थापन गर्ने भन्ने प्रशासनिक प्रक्रियामा समेत सुधारहरू गरिँदै छन्।
यी सुधारका छुट्टाछुट्टै घोषित उद्देश्य भए पनि समग्र दिशाले शिक्षा र चिनियाँ कम्युनिस्ट पार्टीका राजनीतिक प्राथमिकताबीच थप सामञ्जस्य कायम गर्ने बेइजिङको प्रयास देखाउँछ। चीनमा शिक्षालाई राजनीतिक उद्देश्य पूरा गर्ने माध्यमका रूपमा समेत हेरिँदै आएको छ।
सी चिनफिङको नेतृत्वमा यो अवधारणा पाठ्यपुस्तक, कक्षाकोठा, शिक्षक प्रशिक्षण, कानुन र विद्यालय प्रशासनसम्म संस्थागत हुँदै गएको छ। यसले एउटा महत्वपूर्ण प्रश्न उठाएको छ, चिनियाँ विद्यार्थीलाई के पढाइँदैछ भन्ने मात्र होइन, शिक्षा प्रणालीभित्र बौद्धिक विविधता, फरक दृष्टिकोणसँगको परिचय र स्वतन्त्र खोज तथा प्रश्न गर्ने अभ्यासका लागि कति ठाउँ बाँकी छ?
ज्ञान प्राप्त गर्ने माध्यमका रूपमा शिक्षा र राजनीतिक सामाजिकरणको माध्यमका रूपमा शिक्षाबीचको यही तनावले चीनका विद्यालय तथा विश्वविद्यालयबारेको बहसलाई आगामी दिनमा थप प्रभावित गर्ने देखिन्छ।
Facebook Comment