रैथाने कालो बासमती धानको बिउ जोगाउँदै सांसद सुरेन्द्र चौधरी
किसानले खेती गर्न छाड्दै गएपछि लोप हुने जोखिममा परेको कालानमक (रैथाने कालो बासमती) धानको बिउ संरक्षण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र चौधरी खेतीमा जुटेका छन्।
दाङको गढवा गाउँपालिका-४ खड्गपुरमा चौधरीले करिब दुई बिघा क्षेत्रफलमा रैथाने कालो बासमती धान लगएका छन्। उनले यस वर्ष धान उत्पादन गरी बेच्नुभन्दा बिउ संरक्षण गर्ने र खेतीको सम्भावना पहिचान गर्ने उद्देश्यले खेती गरेका हुन्।
कुनै समय दाङका थारू समुदायका किसानले लगाउने गरेको यो धान पछिल्लो समय खेती हुन छाडेपछि लोप हुने जोखिम बढेको छ। अन्य धानको तुलनामा यसको बाला कालो देखिने भएकाले खेतमा छुट्टै पहिचान गर्न सकिन्छ। अहिले चौधरीको खेतमा पनि कालो बाला लागेको धान आकर्षणको विषय बनेको छ। चौधरीका अनुसार बासमती धान अन्य प्रचलित जातको तुलनामा ढिलो पाक्छ र सिँचाइ पनि बढी आवश्यक पर्छ। उत्पादन तुलनात्मक रूपमा कम हुने भएकाले किसानको आकर्षण घटेको हुन सक्ने उनको अनुमान छ।
‘अरू धानको तुलनामा यो धान पाक्न ढिलो हुन्छ। सिँचाइ पनि बढी चाहिन्छ तर यसको महत्व र मूल्य राम्रो छ। अहिले मुख्य रूपमा बिउ उत्पादन गर्ने उद्देश्यले खेती गरेको हुँ। उत्पादन र अनुभवका आधारमा आगामी वर्ष खेती विस्तार गर्ने योजना छ,’ उनले भने।
छिटो पाक्ने, बढी उत्पादन दिने र बजारमा सहजै बिक्री हुने धानतर्फ किसानको आकर्षण बढिरहेका बेला चौधरीले पुरानो जातको धान संरक्षणमा चासो देखाएका हुन्। उनका अनुसार अहिले कपिलवस्तुमा भने यो धानको खेती तुलनात्मक रूपमा बढी हुने गरेको छ।
रैथाने धान संरक्षणको विषय बिउ जोगाउनेमा मात्र सीमित छैन। यसको खेतीसँग स्थानीय कृषि परम्परा, खाद्य संस्कृति र पुस्तौँदेखि किसानले अपनाउँदै आएको खेती प्रणाली पनि जोडिएको छ। यस्ता जातको खेती घट्दै जाँदा बिउ हराउने जोखिम बढ्ने भएकाले खेतीलाई निरन्तरता दिन आवश्यक रहेको चौधरीको भनाइ छ।
बासमती धानको चामल बजारमा महँगो पर्ने गरेको छ। घोराहीस्थित पाण्डेय किराना पसलका सञ्चालक प्रदीप पाण्डेयका अनुसार स्थानीय बजारमा उत्पादित कालो बासमती चामल सहजै उपलब्ध हुँदैन। उनले बाहिरबाट प्याकेटमा आउने चामलको मूल्य सामान्यतया प्रतिप्याकेट १५० देखि २३० रुपियाँसम्म पर्ने बताए।
- सन्तोष दहित/दाङ
Facebook Comment