अर्काको जग्गा हत्याउन खोज्दा अख्तियारको फन्दामा परे किशोरी धामी थारू र भोला धामी थारू
सर्लाहीमा सरकारी कर्मचारी, जनप्रतिनिधि र अन्य व्यक्तिको मिलेमतोमा अर्कैको स्वामित्वमा रहेको जग्गा फर्जी कागजात तयार गरी अन्य व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सर्लाहीको साविक सोकनाहा गाविस वडा नम्बर २(ख) स्थित कित्ता नम्बर ६२ को ११ धुर २ कन्वा जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गरिएको हो। उक्त जग्गा रामदेव बैठा र राजदेव बैठाको हकभोगमा रहेको भए पनि उनीहरूको स्वामित्व र हकभोगसम्बन्धी विवरण परिवर्तन गरी किशोरी धामी थारू र भोला धामी थारूको नाममा जग्गा रहेको देखाएर दर्ता प्रक्रिया अघि बढाइएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
अख्तियारका अनुसार जग्गा दर्ता गर्ने क्रममा हुँदै नभएको तथ्य खडा गरी सरकारी अभिलेखमा रहेको विवरण सच्याइएको थियो। एउटा व्यक्तिको हकभोगमा रहेको जग्गा अर्कै व्यक्तिको नाममा कायम हुने गरी स्रेस्ता र जग्गाधनी पुर्जा तयार गरिएको आयोगको दाबी छ। यस क्रममा गलत विवरण र कागजात तयार गर्नुका साथै सरकारी कागजातमा अनधिकृत रूपमा हेरफेर तथा थपघट गरिएको अख्तियारले जनाएको छ।
यस प्रकरणमा भूमिसुधार तथा मालपोत कार्यालय, सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेश कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। त्यस्तै ईश्वरपुर नगरपालिका वडा नम्बर १५ का तत्कालीन वडा सचिव राम गुलाम राय र तत्कालीन वडा अध्यक्ष कपिलदेव चौधरीलाई पनि प्रतिवादी बनाइएको छ।
यसैगरी जग्गा प्राप्त गर्ने किशोरी धामी थारू र जग्गा प्राप्त गर्न सिफारिस तथा निवेदन दिने भोला धामी थारूलाई पनि प्रतिवादी बनाइएको छ। अख्तियारले उनीहरूलाई मुख्य कसुरदारहरूले गरेको भ्रष्टाचारजन्य कार्यबाट नगद तथा अन्य गैरकानुनी लाभ प्राप्त गर्ने मतियारका रूपमा अभियोग लगाएको छ।
Facebook Comment