भोलिदेखि थप दस घन्टा लोडसेडिङ
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि लागू हुने गरी विद्युत् भार कटौती थप गरी हप्ताको १० घण्टाले बढाएको छ। यसअघि असोज २९ गतेदेखि हप्तामा ४६ घण्टा विद्युत् भार कटौती हुँदै आएकोमा भोलिदेखि हप्तामा ५६ घण्टा विद्युत् भार कटौती गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार परिवर्तित तालिकाअनुसार अब हप्तामा पाँच दिन आठ घण्टा, एक दिन नौ घण्टा र एक दिन सात घण्टा विद्युत् भार कटौती हुनेछ। नदीहरुमा पानीको जलस्तर घट्न गएको कारणबाट माग र आपूर्तिमा असन्तुलन रहेको हुँदा साविकमा हुँदै आएको विद्युत् भार कटौतीको तालिकमा हेरफेर गर्नुपरेको प्राधिकरणका प्रणाली सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले बताए।
भारतबाट आपूर्ति गरिँदै आएको विद्युत्को आपूर्तिमा कमी गरिएबाट पनि विद्युत् भार कटौती गरिएको बताइएको छ। रासस
Facebook Comment