चितवनमा ६१ हजार निरक्षर
चितवन- चितवनमा अझै पनि ६१ हजार निरक्षर रहेको तथ्याङ्क सार्वजनिक भएको छ। तीमध्ये २२ हजार पुरुष र ३९ हजार महिला रहेका छन्। जिल्ला शिक्षा कार्यालय चितवनले आज आयोजना गरेको साक्षरतासम्बन्धी बैठकमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो। सबैलाई साक्षर बनाउनका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ।
बैठकमा राजनीतिक दलहरूले आङ्खना कार्यकर्ता तथा तिनका परिवारलाई साक्षर बनाउने प्रतिबद्धता जनाएका थिए। उनीहरूले पार्टीका हरेक बैठकहरूमा साक्षरताको एजेण्डालाई प्राथमिकताका साथ राख्ने पनि बताएका छन्। स्थानीय विकास अधिकारी बन्धुप्रसाद बास्तोलाको सभापतित्वमा भएको सो बैठकमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक सङ्घ तथा संस्थाका पदाधिकारी, जिल्ला शिक्षा कार्यालयका कर्मचारी, पत्रकारलगायतको सहभागिता थियो। रासस
Facebook Comment