विस्थापित पत्रकार दैलेख फर्किए
सुर्खेत- असुरक्षाका कारण सुर्खेतमा बस्दै आएका दैलेखका २२ जना पत्रकार मङ्गलबार बिहान दैलेख फर्किएका छन्। एमाओवादीका कार्यकर्ताले ज्यान मार्ने धम्की दिएपछि उनीहरु विस्थापित भएका थिए। पत्रकार डेकेन्द्रराज थापाका हत्या आरोपीहरु पक्राउ गरिएपछि अनुसन्धान अघि बढाउन दबाब दिएकै कारण पत्रकारले ज्यान मार्ने धम्की खानुपरेको थियो।
दैलेख फर्किने पत्रकारको टोलीमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँले, केन्द्रीय सदस्यहरु सूर्यमणि गौतम, प्रभात चलाउने, क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रिताल, राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय अधिकृत हरि ज्ञवाली र क्षेत्रीय प्रहरी प्रमुख (डिआइजी) तपेन्द्रध्वज हमाल रहेका छन्।
पत्रकारहरु विस्थापित भएपछि करिब एक साताअघि देखि दैलेखबाट प्रकाशित पत्रिका तथा एफएम रेडियोहरु बन्द भएका थिए। रासस
Facebook Comment