युवा सङ्घका कार्यकर्तामागि गोली प्रहार
खोटाङ- नेकपा–माओवादीका कार्यकर्ताको गोली प्रहारबाट खोटाङमा युवा सङ्घ नेपालका कार्यकर्ता घाइते भएका छन्। नेकपा–माओवादी नेर्पा गाउँ कमिटीका लोकेन्द्र राई र ध्रुव राईको गोली प्रहारबाट युवा सङ्घ नेपाल गाउँ कमिटी नेर्पाका अध्यक्ष पविन राई घाइते भएका हुन्। नेकपा (एमाले) ७ नम्बर इलाकाको छैठौं तथा गाउँ कमिटी नेर्पाको दशौं अधिवेशनको प्रचारप्रसार गरेर घर फर्कंदै गरेको अवस्थामा सोमबार राति ९ बजे पविनमाथि भरुवा बन्दुकले हानिएको एमालेका अध्यक्ष विशाल भट्टराईले बताए।
ढाडको दायाँ भाग र देब्रे गालामा गोली लागेका पविनको अहिले जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ। मंगलबार हुने इलाका र गाउँ अधिवेशनको प्रचारप्रसारमा खटिएका पविनलाई मातेको अवस्थामा नेकपा–माओवादीका कार्यकर्ताले गोली हानेको युवा सङ्घ नेपाल खोटाङका सचिव प्रमोद श्रेष्ठले बताए।
हातबाट माइक खोसेपछि केही भनाभन भएको र त्यसको केही समयपछि भरुवा बन्दुक लिएर प्रहार गरेको घाइते पविनले बताए। गोली प्रहारमा संलग्न राईद्वय नेर्पा–३ र घाइते पविन नेर्पा–५ का बासिन्दा हुन्। घाइते राईको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
गोली प्रहार गर्ने दुवैजना अहिले फरार छन्। उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। नेकपा–माओवादी खोटाङका इन्चार्ज ध्रुव बुढाथोकीले आफ्ना कार्यकर्ताले घटनाबारे जानकारी नदिएको बताए।
यसैबीच युवा सङ्घ नेपालले एक विज्ञप्ति जारी गर्दै गोली प्रहारमा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गर्नुगरेको छ। रासस
Facebook Comment